काठमाडौं — भारतको कोलकाताबाट जयपुर गइरहेको एक विमानमा धूवाँ भरिएपछि कोलकाता विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
इन्डिगो विमानमा उडानकै क्रममा इन्जिन बिग्रिएपछि धूवाँ भरिएको थियो । विमानमा १३६ यात्रु थिए । कोलकाताबाट ४५ माइल पर पुगेपछि विमान कर्मचारीले गुहार मागेका थिए ।
‘कोलकाताबाट ४५ माइल पर पुगेपछि विमान कर्मचारीले मेडे कल (गुहार) गरे । विमानको ककपिट, क्याबिन र शौचालयमा धूवाँ भरिएको थियो । विमानले आकस्मिक अवतरण गर्दा सौभाग्यवश कसैलाई केही भएन र सबै सुरक्षित रहे,’ नाम खोल्न नचाहने एक स्रोतले बतायो ।
एयरबस ३२० विमानमा प्राट एन्ड ह्विट्नी इन्जिन राखिएको थियो ।
इन्डिगोले घटनाको पुष्टि गर्दै विमान सुरक्षित रूपमा अवतरण गरिएको जानकारी दियो । यसअघि विमानमा कुनै खराबी नदेखिएको उसको भनाइ छ ।
एजेन्सी



