काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैठकमा धर्मको एजेन्डामा ठूलै बहस हुने बुझिएको छ । नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएपछि विभिन्न किसिमका हस्तक्षेप हुन थालेको र यसले राष्ट्रियतामै आँच आएको महसुस गरेर महासमिति बैठकमा धर्मबारे स्पष्ट नीति लिनेगरी छलफलको तयारी भैरहेको थाहा भएको छ ।
कांग्रेस महासमिति बैठक भोलि मंसिर २८ सुरु हुँदैछ भने पर्सि औपचारिक उद्घाटनको कार्यक्रम तय गरिएको छ । पुस ३ गतेसम्म चल्ने महासमितिमा पार्टीको विधान संशोधन मुख्य एजेन्डा तय गरिएको भएपनि धर्मका बिषयमा ठोस निर्णय नलिईकन विधानको बिषय अघि बढ्न नसक्ने बुझिएको छ ।
नेपाली कांग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरेका अनुसार, वैदिक सनातन धर्म संस्कृतिको संरक्षण गर्ने बिषयलाई पार्टीले महत्वपूर्ण प्रस्तावका रुपमा महासमिति बैठकबाट पारित गर्नेगरी तयारी भैरहेको छ । नेता घिमिरेले नेपालको राष्ट्रियताको रक्षा गर्न पनि वैदिक सनातन धर्म संस्कृतिको संरक्षणका बारेमा कांग्रेसले स्पष्ट प्रतिवध्दता जाहेर गर्नुपर्ने सरल पत्रिकासँग बताए ।
वैदिक सनातन धर्म संस्कृतिको संरक्षण अभियानमा निकै अघिबाट काम गरिरहेका कांग्रेसका युवा नेता लोकेश ढकालले राष्ट्रियता मूल बिषय भएकाले नेपालको हिमाल,पहाड र तराईलाई एक सूत्रमा वाँध्ने बिषय वैदिक सनातन धर्म संस्कृति नै हो भन्नेमा कांग्रेसले स्पष्ट अडान र निर्णय समेत गर्नुपर्ने बताए । युवा नेता ढकाल भन्छन् –‘सार्वभौम जनतालाई झुक्याएर जबर्जस्ती धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिनु गलत निर्णय थियो । अब कांग्रेसले यसलाई सच्याउनु पर्छ ।’
महासमिति बैठकमा यस बिषयमा छलफल गर्न एउटा ठोस प्रस्ताव नै प्रस्तुत गरिने भएको छ । नेपालका ८० प्रतिशतभन्दा बढी जनता हिन्दू धर्म मान्ने भएपनि जनमत लत्याएर धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको बिषयमा सुरु देखि नै बहस भैरहेको छ ।
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले केही समययता हिन्दू धर्मका बिषयमा जनमत संग्रह गरिनुपर्ने भन्ने धारणा सार्वजनिक गर्दै आएका छन् । कांग्रेसका तत्कालिन नेता खुमवहादुर खडकाले हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि देशब्यापी अभियान नै संञ्चालन गरेका थिए । त्यतिबेला कग्रेसका नेताहरु लक्ष्मणप्रसाद घिमिरे, पुष्पा भुषाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, लोकेश ढकाल,मोहनवहादुर बस्नेत विनयध्वज चन्द, दामोदर गौतम हरिबोल भट्टराई लगायत नेताले खड्कालाई साथ दिएका थिए ।
यता स्वर्गीय खड्काका शिष्य शंकर भण्डारीले महासमिति बैठकमा प्रस्ताव कै रुपमा हिन्दू राष्ट्र कायम गर्ने विषयलाई लैजाने बताएका छन् ।
अघिल्लो पटक भएको महासमितिको बैठकमा ५ सयजति महासमिति सदस्यले हिन्दू राज्य कायम गर्न नेतृत्वसँग माग गरेका थिए । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा भएको राजनीतिक प्रतिवेदनमा नियतवश हिन्दू राष्ट्र नलेखिएको भन्दै हिन्दू राष्ट्रको माग गर्ने नेताहरुले असन्तुष्टी जनाएका थिए ।



