काठमाडौं : नेपाल आइडलको दोस्रो संस्करणको ग्रान्ड फिनाले आउँदो शुक्रबार काठमाडौंमा हुँदैछ। यो अन्तिम प्रतिस्पर्धाबाट मुलुकले नयाँ आइडल पाउनेछ। देशका विभिन्न सहरमा भएका अडिसनहरूबाट छानिएका सयौँ प्रतिस्पर्धीलाई उछिन्दै, दर्शकको माया बटुल्दै आइडलको ‘अन्तिम चार’ मा छानिएका छन- अस्मिता, विक्रम, सुमित र रवि। यस हप्ताको अन्नपूर्ण सम्पूर्णले आइडलका यी टप चार प्रतिस्पर्धीका केही व्यक्तिगत पाटासहित उनीहरूलाई तपाईँमाझ चिनाउन खोजेको छ।

अस्मिता अधिकारी

सिने गुरुङको ‘मेरो प्यारो मान्छे तिमी’ गीत गाएर काठमाडौँ अडिसनमा देखापरिन्, झापाकी अस्मिता अधिकारी। उनको परिवारमा कोही पनि संगीतमा आबद्ध छैन। तर, उनी भने पहिलादेखि नै भजन गाउँथिन्। नेपाल मेडिकल कलेज जोरपाटीबाट बीएस्सी नर्सिङ सकेर आइडलमा आएकी हुन्।

पढाइ र रुचि फरक–फरक भए पनि आगामी दिनमा दुवैलाई सँगसँगै अगाडि बढ्ने उनको सोच छ। ‘सेवाका लागि नर्स, रुचिका लागि गायिका बन्छु,’ अस्मिता भन्छिन्, ‘गीत सुनाउँदै बिरामीको उपचार गर्छु।’ नर्सिङमा मास्ट्र्स गर्ने उद्देश्य लिएकी उनले संगीतलाई व्यावसायिक रूपमा अगाडि बढाउने सोचेकी छिन्।

अरुणा लामा, तारादेवी, नारायणगोपालका गीत उनलाई मन पर्छन्। ‘अञ्जु पन्तको चाहिँ फ्यान नै हुँ,’ उनी भन्छिन्, ‘पहिला पप गीत सुन्ने र गाउने गर्थें। पछि आधुनिक गीत गाउन र सुन्न थालेँ।’

विक्रम बराल

पोखराका विक्रम बराल पप, क्लासिकदेखि सुगम संगीतका पारखी हुन्। उनले एसएलसीपछि पोखराको त्रिवेणी संगीतालयमा क्लासिकल भोकल सिके। नारायणगोपाल, गुलाम अली र अरुण थापा उनका आइडल हुन्। ‘पहिला–पहिला नवीन के भट्टराईलाई पनि एकदमै सुन्थेँ,’ विक्रम भन्छन्, ‘रक सङ गाउन एकदमै मन पथ्र्यो।’ उनकी आमा पनि संगीत पारखी हुन्। आमाको सपना र बुबाको आशीर्वादले आफू यहाँसम्म आइपुगेको उनी बताउँछन्। ‘भोट गरेर जिताउने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनी भन्छन्, ‘आगामी दिनमा पनि त्यही साथ र सपोर्टको अपेक्षा गरेको छु।’ विक्रमले फिल्म ‘प्रसाद’का लागि गीत गाइसकेका छन्। उनी गोल्डन माइक विजेता पनि हुन्। फत्तेमान राजभण्डारीको ‘मर्न बरु गाह्रो हुन्न’ र एउटा रक प्याटर्नको गीत गाएर उनले गोल्डन माइक जितेका थिए।

>>> नेपाल आइडल अन्तिम चार प्रतिस्पर्धीको रमाइलो कुराकानी
रवि ओड

नेपाल आइडलको दोस्रो संस्करणमा टप फोरको सूचीमा सुदूरपश्चिमबाट एक जना मात्रै प्रतिस्पर्धी छन्, रवि ओड। धनगढी अडिसनमा कमल खत्रीको ‘जाउला रेलैमा’ बोलको गीत गाएर उनले निर्णायकको मन जितेका थिए। रवि ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्ने प्रतिस्पर्धी हुन्। शिव परियार, सुगम पोखरेल र हेमन्त रानाका गीत उनलाई बढी मन पर्छन्। सानै उमेरदेखि नै रवि गीत, संगीतमा निकै रुचि राख्थे। विद्यालयमा हुने कार्यक्रममा पनि उनी समय मागेर गीत सुनाइहाल्थे। ‘मेरो बाजे स्थानीय देउडा गाउनुहुन्थ्यो,’ उनी भन्छन्, ‘सबै जनाले मलाई बाजेको गुण सरेको भन्छन्।’

सुमित पाठक

झापाका सुमित पाठक गोल्डन माइक विजेता हुन्। काठमाडौँ अडिसनमा नारायणगोपालको ‘गल्ती हजार हुन्छन्’ बोलको गीत गाएर उनको नेपाल आइडलको यात्रा सुरु भएको थियो। ‘म सानैदेखि तबला बजाउँथेँ,’ उनी भन्छन्, ‘बुबाको म्युजिक इन्स्टिच्युट भएकाले म्युजिक सिक्न धेरै सजिलो भयो।’ सुमितले कक्षा सातमा पढ्दादेखि नै गिटार बजाउन थाले। ‘युट्युबबाट हेरेर गिटार बजाउन सिक्थेँ,’ उनी भन्छन्, ‘म रक, मेटल, सेन्टिमेन्टल, क्लासिकल सबै गीत सुन्न र गाउन मन पराउँछु।’ उनले नेपाली फिल्म ‘अमेरिका ब्वाइज’मा समेत गीत गाइसकेका छन्। ‘नारायणगोपाल, भक्तराज, नेपथ्य र १९७४ एडीका गीत धेरै सुन्छु,’ उनी भन्छन्। १० वर्षको उमेरमा आमा गुमाएका सुमित आमाकै यादलाई म्युजिकमा ढालेको बताउँछन्। ‘नेपाल आइडलले मलाई धेरै आमाहरूको माया दिएको छ,’ उनी भन्छन्, ‘आमाको मप्रति केही बनोस् भन्ने सपना थियो। नेपाल आइडलले त्यो सपना पूरा गरिदिएको छ।’
अन्नपूर्ण पोस्ट बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah