नयाँ दिल्ली, पुष ७ । फ्लाइटको संसारमा अनौठा घटनाहरु देखा पर्छन, यस्तै भएको छ दिल्ली एयरपोर्टमा । एकजना यात्रुको जिद्दिले दर्जनौं अन्य यात्रुहरुले तनाव झेल्नु परेको छ ।
जिद्दि पनि कस्तो भने, यात्रुले चुरोट खान माग गरेको अवस्था । भाष्कर दैनिकका अनुसार, इन्दिरा गान्धी अन्तर्राष्ट्रियम विमानस्थलमा शुक्रबार साँझ दिल्लीबाट कोलकत्ता जाने जहाज रनवेमा दौडिरहेको थियो ।
साढे पाँचको समयमा उडने तयारीमा रहेको जहाज आठ बजे कोलकत्ता पुग्ने तय भएको थियो । फ्लाइट संख्या युके ७०७ रनवेमा दौडिसकेपछि एकजना यात्रुले क्रू मेम्बरसँग चुरोट पिउने इच्छा व्यक्त गर्यो । क्रू मेम्बरले यो मान्ने कुरा थिएन ।
तर यात्रुले भने ढिपी छोडेन । चुरोट नपिई कलकत्ता नजाने अडान यात्रुले लिएपछि जहाजभित्र ठूलै हंगामा भयो । उसलाई निकै सम्झाउने कोशिश गरियो । तर माने पो । अन्तमा उसको इच्छा पुरा गर्नका लागि जहाजलाई फेरी दिल्लीतर्फ फर्काउनु पर्यो ।



