अमेरिकी राष्ट्रपतिद्वारा केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड)ले ब्याज बढाएर फेरि अर्को भुल गर्ने छैन भनी दिएको चेतावनीका बाबजुद उक्त बैंकले बुधबार ब्याजदरमा वृद्धि गरेको छ । बैंकका अधिकारीले फेडरल रिजर्भको ब्याजदरमा वृद्धि गरी हाल कायम रहेको ब्याजदरलाई २.५ प्रतिशतमा पु-याउने योजना अनुसार ०.२५ प्रतिशतको वृद्धि गर्ने निष्कर्षमा पुगेका छन् । विश्वव्यापी विकासबारे गरिएको चासोप्रति अधिकारीहरूले आगामी वृद्धि निकै सुस्त गतिमा हुने आश्वासन दिएका छन् । “मलाई लाग्छ फेडरल बैंकका अधिकारीले अझ अर्को गल्ती गर्नु पहिले ‘वाल जर्नल’ पत्रिकाको सम्पादकीय हेर्नेछन्,”उनले मङ्गलबार ट्वीटरमा उल्लेख गरेका थिए । ट्रम्पले चेतावनीका भाषामा भनेका थिए, “बजारलाई थप अतरल बन्नबाट जोगाऊँ । बजारलाई बुझौँ । अर्थहीन सङ्ख्याको पछि नलागौँ । शुभकामना !”
अमेरिकी राष्ट्रपतिले ब्याज बढाएर वित्तीय सङ्कटका समय ल्याइएको अर्बौँ डलरका प्रोत्साहन कार्यक्रमलाई नरोक्न पनि आग्रह गरेका थिए । केन्द्रीय बैंकको अध्यक्षमा जेरोम पावेललाई नियुक्त गरेका ट्रम्पले पटक पटक बजारको अस्थिरताको कारण केन्द्रीय बैंकमाथि लगाउँदै आएका छन् । उनले बजार अस्थिरताको कारण ब्याजदर नभै बढ्दो व्यापार कर जिम्मेवार रहेको भन्ने आर्थिक विश्लेषकहरूको भनाइलाई खण्डन गर्दै आएका छन् । तर उनको भनाईले फेडरल रिजर्भमाथि ब्याज नबढाउन दवाब परेको थियो । यसअघि राष्ट्रपतिले बैंकबारे सार्वजनिक आलोचना गरेर सामान्यतया बैंकलाई राजनीतिकरण हुनबाट जोगाउन चाहन्थे । ब्याजदरमा वृद्धि गर्ने निश्कर्षमा पुगेको फेडरल रिजर्भ (बैंक) का अध्यक्षले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी बैंकको छलफल तथा निर्णहरूमा राजनीतिक दवाबले कुनै काम नगर्ने भनेका छन् ।
अमेरिकी सेयर बजारको सूचक डाउ यस वर्ष २०१८ मा सबैभन्दा तल्लो विन्दुमा पुगेको छ । फेडका अध्यक्ष पावेलले आर्थिक सन्तुलन कायम राख्न ब्याजदर बढाउनैपर्ने बाध्यता रहेको बताए । फेडको बोर्डको सर्वसम्मत निर्णयका आधारमा निकै सोचविचार गरी ब्याजदर शून्य दशमलव २५ प्रतिशत बढाइएको बैंक अध्यक्ष जेरोमले बताए । अब बैंकको ब्याजदर २ दशमलव ५ प्रतिशत पुगेको छ । लगानीकर्ताले विश्वकै आर्थिक वृद्धिमा आगामी वर्ष केही न्यून हुने भएका कारण अमेरिकी केन्द्रीय बैंक केही नरम हुने अपेक्षा गरेका थिए ।“ अमेरिकी केन्द्रीय बैंक सेयर बजारको ठूलो मित्र रहँदै आएको छ तर अहिले केही शत्रुजस्तो देखिन थाल्यो,” नुभीनका प्रमुख रणनीतिज्ञ बब डोलले भने । फेडले दुइवटा मात्र ब्याजदर वृद्धिको योजना रहेको जनाएको छ । अमेरिकी अर्थतन्त्रको वृद्धि र मुद्रास्फितीलाई ध्यान दिएर ब्याजदरमा समायोजन गर्नुपरेको फेडको भनाइ छ ।नेसनल अस्ट्रेलियन बैंकका रणनीतिज्ञ रे आट्रिलले अर्को वर्ष पनि फेडले ब्याजदरमा समायोजन गर्न सक्ने सङ्केत दिएकाले बजार अस्थिर हुनसक्ने बताए ।
एसियाली सेयर बजार प्रभावित : फेडको ब्याजदर वृद्धिको असर बिहीबार एसियाली सेयर बजारमा प्रस्टैसँग अनुभव गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले पहिल्यै कठिन परिस्थितिबाट गुज्रिरहेको सेयर बजारमा समस्या आएको हो । तथापि विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीचको व्यापार युद्धलाई मत्थर बनाउन अहिले ९० दिनको युद्धविराम भएको छ र दुवै मुलुकबीच आगामी जनवरीमा वार्ता शुरु हुने योजना छ । टोकियो सेयर बजार बिहीबार १ दशमलव ७ प्रतिशतले घटेको छ । चीनको शाङघाई पनि शून्य दशमलव पाँच प्रतिशतले घटेको छ । जापान र चीनका केन्द्रीय बैंकले सेयर बजारमा नकारात्मक असर पर्न नदिन ब्याजदरमा परिवर्तन गरेका छैनन् । बैंक अफ चाइनाले तरलता कायम राख्न नयाँ योजना पनि घोषणा गरेको छ । सियोल र सिड्नीको सेयर बजारमा कमी आएको छ ।
बजेट स्वीकृत तर मेक्सिको पर्खालको बजेट पारित भएन संयुक्तराज्य अमेरिकाको माथिल्लो सदन सिनेटले बुधबार राति अल्पकालीन खर्च विधेयकलाई स्वीकृत गरेको छ । उक्त विधेयकमा अमेरिका–मेक्सिको सीमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुरोध गरेका बजेटलाई भने समेटिएको छैन । सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले सरकारको दैनिक कार्यसञ्चालनका लागि बजेट स्वीकृत भएको जानकारी दिए । बजेट स्वीकृत भएसँगै सङ्घीय सरकारी कार्यालय बन्द हुने परिस्थितिबाट जोगिएका छन् । यो विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पारित हुन आवश्यक छ, र यसमा दुवै पार्टी रिपब्लिकन र डेमोक्रेटबीच सहमति भएको छ । दुवै सदनबाट पारित हुने उक्त बजेटमा शुक्रबार मध्यराति राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नेछन् । रिपब्लिकन र डेमोक्राटिक पार्टीका नेताले बुधबार राष्ट्रपति ट्रम्पको विवादास्पद अमेरिका–मेक्सिको पर्खाल निर्माणका बारेमा अहिल्यै निर्णय नगर्ने सहमति भएसँगै बजेट अनुमोदन भएको थियो ।
“सिनेटमा हाम्रा रिपब्लिकनका साथीले बेलैमा सही निर्णय गरेका छन् र सङ्घीय सरकारी सेवा ठप्प हुनबाट जोगिएको छ । संसद्का दुवै सदनबाट यो बिधेयक पारित हुने कुनै सम्भावना नै थिएन र आमजनता पनि यसको विपक्षमा छन्,” सिनेटमा डेमाक्र्याटिक पार्टीका नेता चक सुमरले बताए । ह्वाइट हाउसका सहयोगीले राष्ट्रपति ट्रम्पले संशोधित विधेयकलाई नै स्वीकृत गर्ने जानकारी दिएका छन् । धराष्ट्रपति ट्रम्पका निम्ति यसलाई पराजयको रुपमा लिइएको छ, किनभने उनले पर्खाल निर्माणका लागि पाँच अर्ब डलर तत्काल जरुरी भएको बताउँदै आएका थिए । राष्ट्रपति ट्रम्पको विचारमा पर्खाल निर्माणले अवैध आप्रवासनलाई रोक्न ठूलो मद्दत गर्नेछ ।



