झापाका सुमित पाठकले काठमाडाैं अडिसनमा ‘गल्ती हजार हुन्छन्’ बोलको गीतमा कर्णप्रिय आवाज दिएर गोल्डेन बाइक जितेका थिए। सानैदेखि घरमा सांगीतिक माहोलमा हुर्किएका सुमितका बुवा संगीत शिक्षक हुन्।

बच्चाबेलादेखि नै उनी गायनमा अब्बल थिए। सानोमै आमाको मायाबाट वञ्चित पाठकलाई संगीतले भने निरन्तर साथ दिइरह्यो। उनकी आमा छोराले राम्रो गरोस् भन्ने चाहन्थिन्। ‘आमाको सपना पूरा गर्न पनि म संगीतमा मेहनत गरिरहेको छु’, उनले बताए।

संगीतमा औपचारिक सीप सिक्न र साधना गर्न नपाएको बताउने सुमित आफूले युट्युव हेरेर नै गाउन सिकेको बताउँछन्। अडिसनमा छनोट भएपछि मात्र उनले आफ्नो भोकललाई तिर्खाने मौका पाए।

उनी संगीत गुरु इन्द्र आर्बीसँग संगीतका सुर, ताल सिकिरहेका छन्। ‘म सानैदेखि तबला बजाउँथेँ’, उनी भन्छन्, ‘घरमा बुवाले खोलेको म्युजिक इन्स्टिच्युट थियो त्यसले गर्दा पनि संगीतको संगत गर्न पाएँ।’ उनी कक्षा ७ मा पढ्दादेखि नै गितार बजाउनमा अभ्यस्त थिए। उनले नेपाली फिल्म अमेरिका ब्याइजमा समेत गीत गाइसकेका छन्।

नारायणगोपाल, भक्तराज, नेपथ्य र १९७४ एडीका गीत बढी सुन्ने पाठक रक, क्लासिकल, लोक सबै गीत गाउन सक्षम छन्। नेपाल आइडलमा तेस्रो स्थान प्राप्त गर्न आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे उनले। आउने दिनमा संगीत क्षेत्रमै लाग्ने जानकारी दिँदै आफूले आफ्ना फ्यानहरूका लागि कर्णप्रिय आवाजमा गीत निकाल्ने जानकारी दिए। उनी भन्छन्, ‘एउटा छुट्टै म्युजिकल ब्यान्ड खोल्ने खुब रहर छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय