मिश्र वैजयन्ती

पल्लो कुइनेटोमा छिन् मेरी आमा थोरै देखिएको छ उनको अनुहार मैले पुग्नु छ आमासम्म ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तिनै आमाको आधार पाएर मैले आफूलाई यो धर्तीमा उभ्याएकी हुँ मेरा दुई पाइतालामा गौरव गर्छु, आमाको काखमै थिगिराउन सिकेँ जीउलाई मेरो शिरको स्वाभिमानलाई अझ उजिल्याउँछु ।

तुसारोले छ्याप्पै हानेको कर्मलाई छिमलेर सधैँ मझेरीमा घाम खसाल्थिन् उनी ! एक मुठी उज्यालो आफनो आँचलमा च्यापेर हामंं्रा आँखामा रोप्थिन् उनी । तर भेटेकै रहेनछ मैले आमालाई सधैं मेरी आमा जादूजस्तो, सम्मोहनजस्तो पल्लो कुइनेटोमा छिन् । मदेखि आमासम्म पुग्न दूरी कत्ति पनि छैन । कत्ति सजिलो छ आमासम्म पुग्न हृदयको बाटो तर कत्ति पनि किन पुग्दिन म जति पुगे पनि !!

पन्छाएर पहराहरु पहराहरु अल्झाउने लहराहरु र आमासम्म पुगून् भनी पठाएका आवाजहरु मैतिर फर्काउने पहाडहरु– म आमासम्म पुग्नु छ ।

हावाले हल्लाएको देख्छु सारीको एक छेउ फरफराएको देख्छु हावामै हिउँजस्तो उनको कपाल पनि भर्खर मात्र आमा हिँडेका पाइतालाका डोबहरु यहीँ छन्, हावाले पनि छुन नभ्याएका मात्रै एउटा कुइनेटाले मेरी आमाको जीउ छेकेको छ ।

कति धारिला वाणीहरु हिँडिरहे उनका मुटुलाई वारपार गर्दै तर उनका एकजोर आँखाहरु नानीतिरै अडिए । साथीजस्तै हिँडिरहेको छ बाटो मलाई आमा हिँडेको बाटो आमाजत्तिकै प्रिय लाग्छ ।

उनका सपनाहरुतिरै हिँड्छन् मेरा सपनाहरु एकदमै नजिक छन् हाम्रा सपनाहरु तर खै मलाई पुग्नुमा किन अभाव छ !!

आओ ए मेरा सन्तानहरु ! मेरो काखैमा आओ भत्काओ न मलाई विथोल मलाई भेट मलाई र , पुग मसम्म, म आमासम्म पुग्नु छ ।