झापा ।

चिकित्सा शिक्षा विधेयक संसदवाट पास हुनु पर्ने लगायतका माग राख्दै सत्याग्रहमा वसेका विजय थापालाई आज काठमाडौं लगिएको छ । विगत आठ दिनदेखि इलाममा अनसनमा रहेका थापालाई आज चन्द्रगढीबाट काठमाडौं लगिएको हो । उनलाई नेपाली सेनाको एनए हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

थापाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि काठमाडौं लगिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा संशोधनको माग राखी १० दिनअघि आमरण अनशनमा रहेका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गएराति नै काठमाडौं लगिएको थियो ।

प्राडा केसीलाई इलाम अस्पतालबाट राति भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल ल्याइएको र तत्कालै नेपाली सेनाको एमआई १७ नाइटभिजन हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उनीसंगै गएराति नै झापा ल्याइएका थापालाई आज विहान मात्रै काठमाडौं लगिएको छ ।

गए राति प्राडा केसीेसँगै अर्को एम्बुलेन्समा राखेर थापालाई पनि काठमाडौँ लैजान झापा ल्याइएपनि एउटै हेलिकप्टरमा दुई जनालाई लान नसकिने भएपछि प्रा डा केसीलाई मात्रै गएराति काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

अनशनरत थापालाई भने भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा थियो । अनशनरत थापालाई हाल प्राडा केसीको उपचार भइरहेको काठमाडौँस्थित शिक्षण अस्पताल नै लगिने थापाका निकट सहयोगी पुष्प भण्डारीले जानकारी दिएका छन् । उनीसंग भण्डारी र एक चिकित्सकसंगै काठमाडौं पठाइएको बताइएको छ ।