काठमाडौं–उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले राहत र अनुदान कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तरण गर्न प्रस्ताव गरेको छ ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको सो प्रतिवेदनमा शिक्षक सेवा आयोगबाट प्रतिस्पर्धात्मक परीक्षामार्फत छनोट गरी दक्ष र उत्प्रेरित सबैलाई आगामी ३ वर्षभित्र स्थायी शिक्षक दरबन्दीमा रुपान्तररित गर्ने नीति अबलम्बन गर्न सिरफारिस गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै तत्कालीन आवश्यकता पूर्तिका लागि बढीमा एक शैक्षिक सत्र अवधिका लागि मात्र करारमा शिक्षक लिने तथा शिक्षक सेवा आयोगबाट स्थायी विज्ञापनको नतिजा प्रकाशन गर्दा वैकल्पिक सूची पनि प्रकाशन गर्ने र वैकल्पिक सूचीमा परेकाहरुबाट मात्र करार शिक्षक भर्ना गर्ने व्यवस्था गर्न पनि आयोगले सुझाव दिएको छ ।

प्रतिस्पर्धामा उच्च अंक ल्याएका उम्मेदवारलाई प्रधानाध्यापकले स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिको परामर्शमा रिक्त दरबन्दीमा सोझै बढीमा १ वर्षका लागि करारमा नियुक्त गर्न सक्ने नीतिगत व्यवस्था गर्न आयोगले भनेको छ ।

यस्तै शिक्षक छनौटका लागि लिइने परीक्षा पनि परिवर्तन गर्न प्रतिवेदनले सुझाव दिएको छ ।

विगतमा शिक्षकको कक्षा प्रदर्शनलाई ऐच्छिक बनाइएकोमा अबदेखि व्यावहारिक कक्षा प्रदर्शनलाई अनिवार्य बनाउन भनिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘आधुनिक प्रविधि अपनाएर शिक्षकको शिक्षण प्रतिभा र उत्प्रेरणास्तर जाँच्न सक्षमता, प्रतिभा तथा उत्प्रेरणा परीक्षण लिने व्यवस्था अनिवार्य बनाउने ।’

५ वर्ष पढाएपछि सरुवा : महिला शिक्षक नियुक्ति बढाउने

आयोगको प्रतिवेदनले कुनै पनि विद्यालयमा एकजना शिक्षक कार्यरत रहने अवधि बढीमा ५ वर्षको बनाउने त्यसपछि स्वतः सरुवा गरिने नीति बनाउन सिफारिस गरेको छ ।

यस्तै विद्यालयमा महिला शिक्षकको उपस्थिति बढाउन पनि जोड दिइएको छ । माध्यामिक तहमा १६ प्रतिशत महिला शिक्षक रहेकोमा आगामी १० वर्षभित्र महिला शिक्षकको अनुपातलाई दोब्बर बनाएर ३३ प्रतिशत पुर्याउने र २० वर्षभित्र यो अनुपात ५० प्रतिशत पु¥याउने नीति अपनाउन सुझाव दिइएको छ । विद्यालयको नेतृत्वमा महिलाको उपस्थिति सुनिश्चित गर्न कानुनमा नीतिगत व्यवस्था गर्न पनि प्रतिवेदनले सुझाएको छ ।

यस्तै विद्यालयको सेवा क्षेत्रको सीमाभित्र दलित, सीमान्तकृत र लोपोन्मुख समुदायको बसोबास भएमा कम्तिमा एकजना त्यो समुदायको शिक्षकलाई नियुक्तिको प्राथमिकता दिन पनि भनिएको छ ।

शिक्षकलाई तालिमका लागि विदेश समेत पठाउन सुझाव

आयोगको प्रतिवेदनले देशभरीका सबै शिक्षकलाई तालिमका बहुविधिहरु प्रयोग गरी २ वर्षभित्र तालिम प्राप्त बनाइसक्ने, दक्ष शिक्षक आपूर्ति र गुणस्तरीय शिक्षाको लागि शिक्षक तालिमको व्यवस्था गर्न हरेक प्रदेशमा शिक्षण एकेडेमीको व्यवस्था गर्ने, यसका लागि संघ तथा प्रदेश सरकारले शिक्षण कलेज वा खुला विश्वविद्यालयको विकल्प समेत अबलम्बन गर्ने प्रस्ताव गरेको छ ।

यस्तै शिक्षक तालिमको लागि स्थानीय सरकारको सिफारिसमा प्रदेश सरकारले शिक्षण एकेडेमी वा शिक्षण कलेजसित वार्षिक सम्झौता गर्ने र सम्झौता बमोजिम तालिम प्राप्त शिक्षक आपूर्ति गर्ने प्रणाली प्रारम्भ गर्न प्रस्ताव गरेको छ ।

आवश्यकता अनुसार शिक्षक तालिमको लागि सरकारको लगानीमा वैदेशिक अध्ययनमा समेत पठाउने प्रवन्ध गर्ने, सफल र राम्रो कामबाट ख्याति कमाएका प्राधानाध्यापक र शिक्षकहरुको रोस्टर निर्माण गर्ने र उक्त रोस्टरबाट लामो विदाको समयमा विद्यालयगत वा क्षेत्रगत छोटो अवधिको शिक्षक तालिम सञ्चालन गर्ने व्यवस्था गर्ने प्रतिवेदनले सुझाएको छ । यस्तै प्रत्येक २ बर्षमा सघन पुनर्ताजगीकरण तालिमको व्यवस्था गर्न पनि सिफारिस गरेको छ ।

शिक्षकलाई तालिम दिँदा हरेक वर्ष लामो बिदामा रोष्टरभित्रका प्रशिक्षक वा विषयविज्ञ आमन्त्रण गरी स्थानीय तहमा १ महिना वा १५ दिने शिक्षक तालिमको व्यवस्था गर्ने, यसका लागि स्थानीय सरकारले सहजीकरण गर्ने, प्रधानाध्यापकले राम्रो सिकाइका लागि उच्च मूल्याङ्कन गरिएका शिक्षकहरुको प्रस्तुति र अनुभव साटासाट गर्ने नियमित व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ ।

यस्तै कुनै पनि विद्यालयको प्राधानाध्यापक हुन कम्तिमा ५ वर्ष माध्यामिक शिक्षकको अनुभव हुनुपर्ने र १५ प्रतिशत भत्ताको व्यवस्था गर्न पनि आयोगले सिफारिस गरेको छ ।रातोपाटी