संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताएका छन।

प्रेस चौतारी र प्रेस सेन्टरले झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “ सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, सन् २०१८ मै १२ लाख पर्यटक आइसकेको हुँदा भ्रमण वर्षको यो लक्ष्य पूरा हुन्छ ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री अधिकारीले सन् २०१९ को अगष्टतिर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने र सन् २०२० सम्ममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यसमेत सम्पन्न भइसक्ने हुँदा सन् २०२० देखि नेपालमा बाह्य पर्यटकको ओइरो लाग्ने बताउँदै यसै वर्षदेखि मुलुकका नौ वटा विमानस्थलमा रात्रि उडान गर्ने जानकारी गराए।

बन्द रहेका २९ वटा विमानस्थल यसै वर्षदेखि सञ्चालन गरिने बताउँदै उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण दुई देशको सरकारी जीटुजी प्रक्रियामार्फत अघि बढाउने र कम वातावरणीय क्षतिमा कार्य सम्पन्न गर्ने सरकारको योजना रहेको धारणा राखेका थिए ।

मन्त्री अधिकारीले रात्रि र बाह्य मुलुकसम्म उडान गर्नका लागि स्तरोन्नति भइरहेको झापाको चन्द्रगढी विमानस्थल तथा किचकबधलगायत चार वटा पर्यटकीयस्थलको निरीक्षणसमेत गरेका छन।