गणेश पोखरेल/

झापाको क्षेत्र नम्वर ५ नेकपा एमालेका लागि त्यस्तो क्षेत्र हो, जहाँ विपक्षी पार्टीलाई प्रतिष्पर्धी खोज्न हम्मेहम्मे पर्छ । ५ नम्वर क्षेत्रका कुनै पनि निर्वाचनमा एमालेसँग प्रतिष्पर्धा सबैका लागि फलामको च्युरा हो । आज मात्र होइन, हिजोले पनि त्यसै भन्छ । चन्द्रमा ग्रहण लाग्छ, त्यो स्थायी हुँदैन भन्ने सत्य विगतले प्रमाणित गरिसकेको छ । एमालेका श्रदेय अध्यक्षले आजसम्मका आम निर्वाचनमा रोजेको क्षेत्र हो, झापा ५ ।

झापा ५ मा मुख्यतः ४ वटा पार्टीको संगठन छ, एमाले, राप्रपा, माओवादी र कांग्रेस । त्यसमा पनि विभिन्न कालखण्डमा अरु पार्टीले एमालेसँग प्रतिष्पर्धा गरे पनि त्यो अस्थित्व रक्षाका लागि थियो । हो, सबै पार्टीको सबै ठाउँमा उस्तै संगठन हुँदैन । झापा ५ एमालेको आधार इलाका हो, एक पटक माओवादीले धावा वोल्यो, आज त्यो पार्टी र यो पार्टी एकता घोषणाको तयारीमा छन् । एउटा उप चुनावमा कांग्रेसले जित्यो, तर त्यो इतिहास बनिसकेको छ । यो क्षेत्रमा राप्रपाले सदैव एउटा हिस्साको प्रतिनिधित्व गरिरहेको छ । यो चुनावमा झापा ५ मा प्रदेश र प्रतिनिधिसभामा एमाले, माओवादी र राप्रपा सबैको उम्मेद्वार एउटै हुनुहुन्छ ।

झापा ५ सबै चुनावमा चर्चाको केन्द्रमा हुन्छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले चर्चा बढ्ने गर्छ । अध्यक्ष ओली उम्मेद्वार हुँदा मात्र होइन, सामान्य संघसंस्थाका निर्वाचनहरुमा पनि ओलीलाई जोडेर चर्चा हुन्छ । जनताद्वारा निर्वाचित प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सिलसिलामा हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा पछिल्लो जनमत कस्तो थियो भन्ने सन्दर्भमा मैले यहाँ चर्चा गर्ने प्रयास गरेको छु । ५ महिना पहिले भएको स्थानीय तह निर्वाचनमा कुन दलका उम्मेद्वारले कति मत प्राप्त गरेका थिए र अब के होला भनेर वडाध्यक्षका उम्मेद्वारले प्राप्त गरेको मतलाई निर्वाचन आयोगको तथ्यांक अनुसार प्रस्तुत गर्नेछु ।

प्रतिनिधिसभा क्षेत्र नम्वर ५ को प्रदेशसभा क्षेत्र नम्वर १ मा १६ वटा वडा रहेका छन् । कमल गाउँपालिकाको १, २, ३ र ४, गौरादह नगरपालिकाको वडा नम्वर १, २, ३, ४, ५, ६, ७ र ८ तथा गौरिगञ्ज गाउँपालिकाको ३, ४, ५ र ६ नम्वर वडा यो क्षेत्रमा रहेका छन् । प्रदेशसभा र प्रतिनिधिसभाका लागि यो क्षेत्रमा ६७,२५८ जना मतदाता छन् । ती मतदाताले ८२ वटा मतदान केन्द्रमार्फत मतदान गर्ने छन् । यो क्षेत्रका १६ वटा वडामा गत स्थानीय तहको निर्वाचनका समयमा एमालेका वडाध्यक्षका उम्मेद्वारले १४,७०३ मत प्राप्त गर्दा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेद्वारले ७,४६२ मत र राप्रपाका वडाध्यक्षका उम्मेद्वारले २,५२६ मत प्राप्त गर्नु भएको छ । यो चुनावमा एमाले, माओवादी र राप्रपाको गठबन्धन रहेकाले यो मत जोड्दा २४,६९१ मत हुन आउँछ । कांग्रेसका वडाध्यक्षका उम्मेद्वारले ११,६९७ मत प्राप्त गर्नु भएको छ ।

गठबन्धनको मतबाट कांग्रेसको मत घटाउँदा १२,९९४ मतले एमाले केन्द्रीय सदस्य तथा सो क्षेत्रका उम्मेद्वार हिक्मत कार्की अगाडि हुनुहुन्छ । एमाले र कांग्रेसको मात्र मतको कुरा गर्दा पनि एमाले प्रदेशसभाको यो क्षेत्रमा ३,००६ मतले अगाडि छ । यसमा गठबन्धन दलको मत जोड्दा यो क्षेत्र प्रतिष्पर्धी भएको प्रतिष्पर्धाविहीन क्षेत्र हो । उम्मेद्वार कार्की एमालेका प्रभावशाली युवा नेता हुनुले पनि क्षेत्रको विकासका लागि उहाँको विकल्प नभएको स्थानीयले ठानेका छन् ।

झापा ५ को प्रदेशसभा क्षेत्र नम्वर २ मा १३ वटा वडा रहेका छन् । दमक नगरपालिकाका १० वटा वडा र कमल गाउँपालिकाका ५, ६ र ७ नम्वर वडा समेटेर बनाएको यो क्षेत्रमा ७०,३०३ जना मतदाता रहेका छन् । ती मतदाताले ७७ वटा मतदान केन्द्रबाट मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ । यो क्षेत्रका १३ वटा वडामा स्थानीय तहको निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेद्वारहरुले १५,९७५ मत प्राप्त गर्नु भएको छ । राप्रपाका वडाध्यक्षका उम्मेद्वारले ६,४४४ मत र माओवादीका वडाध्यक्षका उम्मेद्वारले ५,७०१ मत प्राप्त गर्नु भएको छ । तीन पार्टीको गठबन्धन मत २८,१२० हुन्छ ।

oli pic

कांग्रेसका वडाध्यक्षका उम्मेद्वारले ९,४५४ मत प्राप्त गर्नु भएको छ । गठबन्धनको मतबाट कांग्रेसको मत घटाउँदा १८,६६६ मत हुन आउँछ । यति ठूलो मतान्तर रहेको क्षेत्रमा झापामा सबैभन्दा इमान्दार जनप्रतिनिधिको पहिचान बनाउनु भएका झापा जिल्ला विकास समितिका पूर्वसभापति अर्जुन राई उम्मेद्वार हुनुहुन्छ । यहाँका प्रतिष्पर्धीले निर्वाचनमा किन दुख गर्नु भन्नेभन्दा अर्को विकल्प देखिँदैन । झापामा रहेका प्रदेशसभाका १० वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा ठूलो अन्तर पनि यही क्षेत्रमा हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर ५ का कुरा गर्ने हो भने एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा ५२,८११ मत रहेको छ । कांग्रेसका उम्मेद्वारको पक्षमा २१,१५१ मत रहेको छ । यो मतअन्तर हेर्दा ३१,६६० मत हुन आउँछ । यो त विभिन्न पार्टीका कार्यकर्ताले स्थानीय तहमा प्रतिष्पर्धा गर्दाको मत हो यो । केपी शर्मा ओलीको व्यक्तित्वका छेउमा कांग्रेसका दमक क्षेत्रका कार्यकर्ताले पार्टी मात्र भनेर बस्नु पर्छ भन्ने हिजो पनि सोचेका थिएनन् र भोलि पनि सोच्ने छैनन् । यस्तो अवस्थामा भोलि के होला भन्नै पर्दैन । अध्यक्ष ओलीले एमालेको अध्यक्ष र प्रधानमन्त्री बनेपछि गर्नु भएका काम ५ नम्वर क्षेत्रका नागरिकलाई बताइरहनु पर्दैन ।amale maobadi raprapa

यस्तो अवस्था छ, त्यहीका कांग्रेस कार्यकर्ताले उम्मेद्वारीमा अनिच्छा देखाएपछि वाकओभर दिन नमिलेर मात्र कलेज पढाउँदै गरेका शिक्षकलाई बोलाइएको हो । त्यसैले भन्न सकिन्छ, झापा ५ मा निर्वाचनको औपचारिकता दिन मात्र बाँकी छ । ओलीसँग चुनावमा उठेको मान्छे हुँ भन्ने वायोडाटा बढाउने कामभन्दा ५ नम्वर क्षेत्रमा केही हुने अपेक्षा उम्मेद्वारहरुले पनि गरेका छैनन् । जस्तो परिस्थितिमा पनि प्रतिष्पर्धाका लागि तयार हुनु नै त हो लोकतन्त्रको सौदर्य पनि ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय