दमक। झापाको दमकमा आज एक कार्यक्रमकाबीच १ हजार वाट क्षमताको रेडियो किंगको उद्घाटन गरिएको छ । किंग मिडिया ग्रुपबाट संचालन गरिएको सो रेडियोको प्रदेश नम्बर १ का आन्तरीक मामिला, कानून तथा संचारमन्त्री हिकमत कार्कीले उद्घाटन गर्नु भएको हो ।

वहाँले मास्टर कन्ट्रोल रुमबाट राष्ट्रिय गान प्ले गरेर रेडियोको उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्त्री कार्कीले रेडियो किंगले सत्य समाचार संप्रेषण गर्ने र जनताको आवाजलाई आम समुदायकोबीचमा पुर्याउने काममा अहम भुमिका निर्वाह गर्ने बताउनु भयो ।

वहाँले रेडियोहरुको भीडमा, आम संचार माध्यमहरुको भीडमा अत्यन्तै हाइट भएको र राइज दिन सक्ने रेडियोको रुपमा रेडियो किंगले आँफूलाई स्थापित गर्नेछ भन्ने विश्वास लिएको छु भन्दै शुभकामना समेत दिनु भयो ।

मन्त्री कार्कीले सत्य समाचार दिनमा रेडियो चुक्नु हुन्न भन्दै गलत समाचार संप्रेषण भए त्यसले भयावह अबस्था श्रृजना हुनसक्ने भन्दै भारतीय अभिनेता ऋतीक रोशन काण्डलाई पनि स्मरण गराउनु भएको थियो ।

त्यस्तै वहाँले रेडियो किंग भन्ने वित्तिकै रेडियोहरुको राजा भन्दै सबैभन्दा उत्कृष्ट हुने विश्वास पनि व्यक्त गर्नु भयो । कार्यक्रममा किंग मिडियाका अध्यक्ष तथा उद्घाटन समारोहका सभाध्यक्ष डा. नविन चापागाईले कोरोना भाइरसका कारण विषम परिस्थिति भएपनि अषाढ सम्म रेडियो संचालन नगरे दर्ता खारेज हुने भएकाले यो विषम परिस्थितिमा पनि रेडियो संचालन गर्नुपरेको बताउनु भयो ।

वहाँले रेडियोले श्रमजीवी ऐन अनुसार पारश्रमिक दिने प्रतिवद्धता समेत जनाउनु भयो । साथै अध्यक्ष चापागाईले प्रधानमन्त्री केपी ओलीले पठाएको शुभकामना पढेर पनि सुनाउनु भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै संविधानसभा सदस्य दीपक कार्की, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पाथीभरा एफ.एम.का प्रबन्ध निर्देशक राजेन्द्र चौलागाई, इलाका प्रशासन कार्यालय दमकका प्रमुख कृष्ण प्रसाद आचार्य लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

रेडियो एक हजार वाट क्षमताको भएको र पुर्वका जिल्लाहरुसँगै भारतको सिक्किम सम्म सुनिने बताइएको छ । कार्यक्रममा संचाकर्मी, लायन्सकर्मी तथा अन्य संघ संस्थाका प्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा रेडियोका अर्का संचालक काशी थपलियाले स्वागत मन्तव्य राख्नु भएको थियो । रेडियोमा संविधान सभाका सदस्य दीपक कार्की, डा. नविन चापागाई, काशी थपलिया र विमल शर्माको लगानी रहेको छ । कार्यक्रम मदन भट्टराईले संचालन गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर