दमक/ दमक नगरपालिका–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा विभिन्न उद्यम सुरु भएका छन् । ती उद्यममा महिला सहभागिता उल्लेख्य छ । अचार बनाउने, च्याउ खेती गर्ने जस्ता उद्यम महिलाहरुकै सहभागितामा भइरहेका छन् ।

बेलडाँगी २ सी १ शिविरमा १४ जना महिलाले भुटानी शरणार्थी महिला स्वावलम्बन समूह गठन गरी अचार उद्योग सुरु गरेका छन् । गत वर्ष कारिटास नेपालले तालिम दिएपछि १४ जनाले एकरएक हजार रुपैयाँ संकलन गरी लघु उद्योग सञ्चालनमा ल्याएका हुन् । तालिममा १७ जना सहभागी भए पनि उद्यम सञ्चालनमा भने १४ जना सहभागी भएको समूहकी कोषाध्यक्ष बिष्णुमाया गुरुङले जानकारी दिइन् ।

यहाँ उत्पादित अचार पुनस्र्थापनाका क्रममा अमेरिका पुगेका भुटानी शरणार्थीहरुका लागि कोसेलीका रुपमा पुग्ने गरेको छ । शिविरमा रहेकाहरुले अमेरिकामा रहेका आफन्तका लागि कोसेली पठाउने गरेको उनले बताइन्। अचार उद्योगको नाम र ब्रान्डमा भुटानी राष्ट्रियता जोडेका छन् । अचारको ब्राण्ड ड्रागन छ । ड्रागन भुटानको राष्ट्रिय झण्डामा अंकित चिह्न हो । अचारको ब्राण्डले पनि शिविर र विभिन्न मुलुक पुगेका शरणार्थीहरुलाई जोड्न सहयोग पुर्‍याएको उनीहरुको भनाइ छ ।

दाताले छोडेपछि आत्मनिर्भर बन्दै

अढाई दशकसम्म दाताले नापतौल गरेर दिएको रासनमा जिउन बाध्य भुटानी शरणार्थीहरु आफ्नै उद्यममा बाँच्न सिक्न थालेका हुन् । शरणार्थीहरुको तेस्रो देश पुनस्र्थापना कार्य पूरा भएसँगै दाताले सहयोग कटौती गरेपछि उनीहरु आफ्नै कमाई गर्न सामूहिक रुपमा लागेका हुन् । यस्ता सीप प्रदानमा भने सहयोग काट्दै गएका दातृ संस्थाहरुलेनै सहयोग गरेका छन् । ‘तालिम सक्दा अभ्यासका लागि ल्याइएका केही समान दिनुभएको थियो ।

त्यसैमा एक-एक हजार रुपैयाँ थपेर अचार उत्पादन थालेका हौं,’ कोषाध्यक्ष गुरुङले भनिन्, ‘अहिले सुरुवाती समय छ, त्यसैले धेरै बनाउन सकेका छैनौं । तर, यसलाई क्रमशः बढाउने तयारी छ ।’ तेस्रो मुलुक पुनर्वासमा गएकाहरुको खाली छाप्रोलाई उनीहरुले उद्योगको सञ्चालन गर्ने ठाउँ बनाएका छन् । उनीहरुको उद्योगमा लप्सी, गाजर, जलपाई, कागती, आँप, डल्ले खुर्सानीलगायतको अलग अलग तथा ‘मिक्स’ अचार उत्पादन हुँदै आइएको छ । यहाँ उत्पादित अचारका लागि बजारको समस्या नभएको उनीहरुको भनाइ छ । उत्पादन स्थलमानै आएर व्यवसायी तथा उपभोक्ताले लैजाने गरेका छन्।

शिविरभित्रै च्याउ खेती

शरणार्थी शिविरकै ६ जना महिलाले सामूहिक रुपमा च्याउ खेती समेत गर्दै आएका छन् । तीन छिमल च्याउ तयार पारिसकेका छन् । सुरुमा एक हजार पोकाबाट च्याउ खेती थाले पनि समूहका सदस्यहरुको संख्या घटेपछि पछिल्लो पटक ४०० पोकामा मात्र खेती गरिएको समूहकी सदस्य देवीमाया गुरुङले बताइन् । ‘च्याउ खेती खासै गाह्रो पनि रहेनछ, बजारको पनि समस्या छैन,’ उनले भनिन्, ‘तर अहिले धेरैको घर बनाउने बेला छ । त्यसैले समय दिन गाह्रो भइरहेको छ ।’ सुरुमा प्रतिसदस्य एकरएक हजार रुपैयाँ लगानी गरेर खेती थालेकाहरुले छोटो समयमानै लगानीसहित केही फाइदा पनि लगेका छन् । तर, खेती विस्तारको समय भएकाले फाइदा रकमले च्याउ खेतीका लागि चाहिने पराल, प्लाष्टिकलगायतका समान खरिदमा समेत लगानी गर्दै लगेको उनीहरुको भनाइ छ ।

थाहाखबरबाट (गोपाल झापाली)

प्रतिक्रिया

सम्बन्धित खवर