विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विश्व आक्रान्त बनेको छ । यो महामारीबाट नेपाल पनि अलग रहन सकेको छैन । दमक नगरपालिकामा पनि यसको संक्रमण देखियो । संक्रमण देखिनु अघिदेखिनै नगरपालिकाको संयन्त्र यसको नियन्त्रणमा क्रियाशिल रहेको थियो । प्रस्तुत् छ, दमक नगरपालिकामा कोरोना नियन्त्रणका लागि भएका प्रयास र यसको प्रभावका बारेमा दमक नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीसँग गरिएकोे कुराकानी

दमक नगरपालिकामा कोरोना नियन्त्रणका लागि के कस्ता प्रयास गरिए ?
जव छिमेकी देशहरुमा संक्रमण देखियो यस लगत्तै हामी सजग बन्यौं । सरकारले लकडाउन घोषणा गर्नु अघिनै दमकमा कोरोना प्रवेश गर्न नदिन विभिन्न पक्षविच समन्वय गरियो । लकडाउन घोषणाको दुई दिन अघिनै दमकको दमक अस्पताल र आम्दा अस्पतालमा अलग्गै ज्वरो क्लिनिक सञ्चालनमा ल्याईयो भने दुवै अस्पतालमानै आईसोलेसन पनि निर्माण गरियो । ःत्यस लगत्तै हामी जनचेतना अभिवृद्धी गर्ने, क्वारेन्टीन निर्माण गर्ने तर्फ लाग्यौं । त्यस पछि सिंगो नगरपालिका, नगरबासी, संघ संस्था, अस्पताल लगायत सवै क्षेत्र एक ढिक्का भएर कोरोना नियन्त्रणका लागि क्रियाशिल भयौं ।

कोरोना नियन्त्रणबारे शुरुवाती समयमा धेरै तिर अन्यौलता थियो, यस्तो बेलामा कसरी काम थाल्नु भयो ?

हो, कोरोना कसरी नियन्त्रण गर्ने, फैलन नदिने, सावधानीका उपाय के हुने जस्ता विषयमा धेरै थाह थिएन । तर चुप लागेर बस्ने अवस्था पनि थिएन । हामीले दमक अस्पतालका डाक्टरहरुसँग सल्लाह गर्यौं । उहाँहरुले ज्वरो क्लिनिक शुरु गर्ने हिम्मत गर्नु भयो । आम्दाले पनि सँगै शुरु गर्यो । एउटा टेण्ट नेपाली सेना मार्फत उपलव्ध भए पछि क्लिनिक शुरु भयो । योसँगै हामीले कोरोनाबाट जोगिनका लागि जनचेतना अभिवृद्धी तर्फ पनि लाग्यौं । सामाजिक दुरी कायम गर्ने, सावुन पानीले हात धुने जस्ता कार्य गर्न प्रेरीत गर्यौ । लकडाउन घोषणासँगै केहि दिन त थप अन्यौलता पनि भयो । के गर्ने, के नगर्ने प्रष्ट थिएन । तर जव संघीय सरकारबाट लकडाउन कार्यान्वयन, क्वारेन्टीन निर्माण र सञ्चालन लगायतका बारेमा प्रष्ट हुँदै गयो । हामी पनि त्यसलाई अबलम्बन गर्दै यसको नियन्त्रणमा जुट्यौं । नगरबासी तथा सम्पूर्ण क्षेत्रबाट पनि क्रमिक रुपमा सहयोग जुट्यो । यसरी हामी दमकमा कोरोना विरुद्ध एकढिक्का भएर क्रियाशिल भयौं । महामारीको समयमा विभिन्न अफबाहाहरु फैलिने, सर्वसाधारणमा भ्रम तथा त्रास पैदा हुने जस्ता अवस्था पनि देखिए कतिपय ठाउँमा । दमकममा चाँहि यस्ता

सर्वसाधारणमा जनचेतना अभिवृद्धीका लागि कसरी काम भयो ?
हामी यो कुरामा बेलै देखि सजग रहयौं । त्यसैले जति पनि सुचनाहरु प्रवाह गर्नु पर्ने हुन्छ, एकद्वार प्रणालीबाट जाने संयन्त्रको विकास गरियो । म आँफै पनि नगरपालिकाको प्रवक्ता भएको नाताले आवश्यक सुचना तथा जानकारी प्रवाहका लागि दैनिक समेत विज्ञप्ति तथा सुचना सार्वजनिक गरियो । संख्या, तथ्य, वास्ताविकता आदि फरक नहोस भनेर प्राप्त विवरणलाई नगरपालिकाको वेभसाईट, फेसबुक तथा सञ्चार माध्यमहरुबाट नियमित सार्वजनिक गरियो । जसका कारण दमक नगरपालिकाबाट प्रवाह हुने सुचनामा एकरुपता आयो । यसमा सञ्चार क्षेत्रबाट पनि ठुलो सहयोग प्राप्त भयो । विवरण र तथ्यमा सवै तिर एकरुपता आयो । त्यसैले कुनै अफवाह फैलिन नदिन हामी गम्भिररुपमा लाग्यौं । यसैगरि कोरोनाको रोकथाम कसरी गर्ने, सावधानी कसरी अपनाउने भन्ने विषयमा पनि नगरपालिकाले सवै तिर पुग्ने गरि चेतनामूलक सन्देशहरु प्रवाह गर्यो । सञ्चार माध्यमबाट पनि प्रवाह गरियो । यसकुरामा यहाँका सवै संघ संस्था, व्यवसायीहरुबाट पनि साथ पाईयो । यसरी सवै क्षेत्रको साथ सहयोगबाट हामी सुचना प्रवाह तथा जनचेतना फैल्याउने कुरामा अघि बढ्यौं,यसरीनै अघि बढि रहेका छौं ।

कोरोना नियन्त्रणका लागि श्रोत साधनको उपलव्धता कसरी भयो ?

शुरुमा त श्रोत साधनको रुपमा के के प्रयोग गर्ने, कहाँबाट उपलव्ध गराउने भन्नेमा अन्यौल थियो । सम्भावित संक्रमितहरुको परीक्षणका लागि पीपीई आई पुगेको थिएन । त्यसैले चिकित्सकहरुकै सुझाव र निगरानीमा स्थानीय स्तरमानै उत्पादन गरेर पनि उपलव्ध गरायौं । स्वास्थ्यकर्मीहरु शुरुवात समय देखिनै दृढताका साथ क्रियाशिल हुनु भयो । त्यस पछि संघीय सरकारबाट पनि अन्य श्रोत साधन उपलव्ध हुँदै गयो । विभिन्न संघ संस्था तथा नगरबासीबाट पनि प्राप्त हुँदै गयो । त्यस पछि श्रोत साधन उपलव्धता केहि हद सम्म हुँदै गयो ।

क्वारेन्टीन, आईसोलेसन जस्ता बिषयमा त नेपाली समाज अभ्यस्त भएको थिएन । कसरी व्यवस्थापन गर्नु भयो ?

शुरुमा त यसका मापदण्ड आएका पनि थिएनन् । तर स्वास्थ्यकर्मीहरुको टोलीले अध्ययन गर्यो । त्यसै अनुरुप दमक अस्पतालमा २ बेडको आईसोलन कक्ष तयार भयो । आम्दाले पनि शुरु गर्यो । तर दमकमा संक्रमित भेटिए पछि र भारतबाट नेपाली भित्र्याउने क्रमबढे पछि यसलाई विस्तार गरियो । एउटा एम्बुलेन्स पनि हामीले तयारी अवस्थामा राख्यौं । दाहाल प्रतिष्ठानमा २४ बेड र मिष्ट कलेजमा २० वेडको क्वारेन्टीन तयार पारियो । यसको पनि क्षमता विकास गरि दुवै तर्फ गरि १ सय वेड तयार पारियो भने मदन भण्डारी स्मृति प्रतिष्ठानको कलेजमा पनि होल्डीङ एरीया सहितको एक सय वेड तयार पारियो । क्रमिक रुपमा श्रोत साधनको परिचालन र क्षमता विकास हुँदै आयो । सहज रुपमा बसोबास गर्ने व्यवस्था मिलाउन दमक र दमक बाहिरका बासिन्दा, महिला र पुरुषका लागि अलग अलग क्वारेन्टीन तयार पारियो । केहि सहकारी संस्थाहरुले तरकारी उपलव्ध गराउनु भयो, केहिले दुध समेत उपलव्ध गराएर सहयोग गर्नु भयो । विभिन्न व्यक्ति संस्थाबाट नगद तथा जिन्सी पनि सहयोग प्राप्त हुँदै गए पछि कोरोना नियन्त्रणको प्रयास बलियो हुँदै गयो ।

तर यति प्रयास गर्दा गर्दै पनि दमकमा एकजनामा संक्रमण देखियो । त्यस पछिचाँहि नियन्त्रणको प्रयास कसरी अघि बढिरहेको छ ?

हो, बेलै देखि नियन्त्रणमा एकतावद्ध भएर लाग्दा लाग्दै पनि वडा नं. ३ मा संक्रमण देखियो । सम्भावित जोखिममा रहेका व्यक्तिहरुको पहिचान, दैनिकी माथिको निगरानी लगायतका प्रयासले संक्रमित पहिचान भयो । जव संक्रमित पत्तो लाग्यो, त्यस पश्चात तुरुन्तै दमक अस्पतालकै एम्बुलेन्समा उपचारका लागि लगियो । उहाँका परिवारका सदस्यहरुलाई दमक अस्पतालको आईसोलेनमा राखियो । स्वास्थ्यकर्मीहरुले संक्रमितको कन्ट्रयाक ट्रेसीङ् थाल्नु भयो । परीक्षण तिव्र पारियो । वडालाई सिल गरेर सम्भावितहरुको परीक्षण गरियो । सवै संयन्त्र थप सजगतापूर्वक क्रियाशिल भए । दमकको स्वास्थ्य शाखा, चिकित्सकहरुको क्रियाशिलताले विज्ञहरु ल्याएर कोरोना नियन्त्रणका बिषयमा प्रशिक्षण पनि सञ्चालन गरियो । सो प्रशिक्षण पश्चात स्वास्थ्यकर्मीहरुलाई पनि काम गर्न सहज भयो । लकडाउन कार्यान्वयनमा नगरबासीबाट भरपूर सहयोग भयो । आवश्यकता अनुसार सुरक्षा निकाय पनि परिचालित भयो । केहि समय त, दमक अस्पतालका स्वास्थ्यकर्मी घर समेत नगई होटललाई क्वारेन्टीन बनाएर बस्नु भयो र काम गर्नु भयो । यसमा होटल व्यवसायी संघ तथा अध्यक्ष राजेन्द्र दंगालबाट सहयोग भयो । निजी अस्पतालहरुबाट पनि दैनिक रुपमा सुचना आउने संयन्त्रको विकास गरियो । बाहिर सुचना प्रवाहमा पनि एकरुपता ल्याईयो । यसरी पहिलो संक्रमित भेटिए पछि नगरपालिका संयन्त्र थप सचेततापूर्वक गम्भिर भएर लागि परेको हो । सबैपक्षबाट भएको सकारात्मक सहयोगका कारण हामीले गर्व गर्नुपर्छ अहिले सम्म समुदायमा यो संक्रमण देखिएको छैन । त्यसो भन्दैमा अब सचेतताको आवश्यक छैन भन्ने होइन थप उच्च सतर्कता र सावधानी अनिवार्य छ ।

कोरोना नियन्त्रणमा आर्थिक श्रोत साधन पनि महत्वपूर्ण थियो, यसको व्यवस्थापन र परिचालन कसरी गरियो ?

कोरोना नियन्त्रणका लागि नगरपालिकाले एउटा कोष स्थापना गर्यो र त्यसमा सवै क्षेत्रको सहयोग जुट्यो । कोषमा शुरुमा नगरपालिकाले ३० लाख रुपैयाँ जम्मा गर्यो । यासँगै सवै जनप्रतिनिधीको एक महिनाको सेवा सुविधा र स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी बाहेकका कर्मचारीको एकमहिनाको पारिश्रमिकको १० प्रतिशत जम्मा गरियो । त्यस पछि विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट नगद तथा जिन्सी सहयोग प्राप्त हुँदै गयो । विभिन्न स्वास्थ्य सामाग्री पनि प्राप्त हुँदै गयो र कोरोना नियन्त्रणका विभिन्न गतिविधि सञ्चालन गरियो ।

अब कोरोनाको प्रभाव कस्तो रहला र यसको प्रभाव अन्त्यका लागि नगरपालिकाको भुमिका के रहन्छ ?

निश्चय पनि कोरोनाका प्रभाव त केहि समय रहन्छन् नैं । हामीले कोरोनाले असर पारेका क्षेत्रलाई थप सवल बनाएर लैजान आवश्यक हुन्छ । कोरोनोका विश्वव्यापी असरकै कारण बैदेशिक रोजगारीमा पुगेका धेरै युवाहरु फर्कने सम्भावना पनि छ । त्यसैले हामीले ति युवाहरुलाई के अवसर दिने भनेर पनि सोच्न जरुरी हुन्छ । बिदेशमा रोजगारी गुमाएर आएकाहरुलाई रोजगारी, स्वउद्यम तथा उत्पादनसँग जोड्ने गरि हाम्रा कार्यक्रमहरु आउने छन् । यहिँका किसान, उद्यमी, व्यवसायीहरुलाई धेरै क्षती पुगेको छ । त्यसैले हामीले अब स्वास्थ्यक्षेत्र सँगै शिक्षा, रोजगारी र कृषि क्षेत्रलाई थप प्राथमिकता दिनु पर्ने अवस्था छ । जनस्वास्थ्य अन्तर्गतका कार्यक्रमहरु पनि विस्तार गरेर अनि उत्पादनशिल क्षेत्रमा नगरबासीहरुलाई सहभागी गराएर कोरोना पछिको अवस्थालाई सहज बनाउने तर्फ हाम्रो ध्यान जाने छ ।

निष्कर्ष न्यूजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय