‘यो दाजुको मिर्मिरे आँखा’ लगायत दर्जन गीतका सर्जक तथा कुशल वाद्यवादक धनबहादुर गायक (गन्धर्व)को निधन भएको छ । उनको सोमबार बिहान पोखरास्थित मनिपाल अस्पतालमा अपचारका क्रममा निधन भएको गायक पुरुषोत्तम न्यौपानेले जानकारी दिएका छन् ।५९ वर्षीय धनबहादुर सुगर र उच्च रक्तचापको बिरामी थिए । शनिबार अस्पताल भर्ना भएका उनको सोमबार बिहान ९ बजे निधन भएको हो । पोखरा महानगरपालिका –१६ बाटुलेचौर निवासी धनबहादुरको ‘यो दाजुको मिर्मिरे आँखा’ निकै लोकप्रिय गीत मानिन्छ ।गायक पुरुषोत्तम न्यौपानेले अनलाइनखबरसँग भने–‘उहाँका गीतहरु धेरै छैनन् तर जति छन् लोकप्रिय छन् ।’ रेडियो नेपाल पोखरामा उनका रेकर्ड भएका केही गीतहरु पनि रहेको न्यौपानेले जानकारी दिए । धनबहादुरले पोखरा महानगरपालिको सरकारी जागिरबाट गतवर्ष अवकाश लिएका थिए । उनले संगीत प्रशिक्षण केन्द्र बिन्ध्यवासिनीमा संगीतको गुरु भएर प्रशिक्षण समेत दिएका छन् ।

उनले स्वर्गीय कलाकार झलकमान गन्धर्वको नाममा ‘झलकमान गन्धर्व संगीत पाठशाला प्रतिष्ठान’को समेत गठन गरेका थिए । यो प्रतिष्ठानको अध्यक्ष भएर उनले सारंगी र मादल बादन सिकाउँथे । त्यस्तै, उनी लोकसंगीत समुह पोखराको संस्थापक अध्यक्ष समेत हुन् ।सर्जक तथा वाद्यवादक धनबहादुरको निधनले लोक सांगीतिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले बताए । लोक सांगीतिक क्षेत्रका थुप्रै कलाकारहरुले उनको निधनमा दुःख ब्यक्त गरेका छन्।