दमक÷२०१७ सालमा स्थापना भएको झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित बाल कल्याण माविका भूतपूर्व बिद्यार्थी तथा शिक्षकहरुबीचको दोश्रो बृहत पुनर्मिलन कार्यक्रम आउँदो शुक्रबार गर्ने तयारी भएको छ ।

भूतपूर्व बिद्यार्थी एवं शिक्षकहरुबीच भेटघाट र अन्तरक्रियासाथै आन्तरिक पर्यटन प्रवद्र्धन समेत गर्ने उद्धेश्यले झापाको पर्यटकीय क्षेत्र दोमुखामा वनभोजसहित आयोजना गरिएको सो कार्यक्रमको ८० प्रतिशत तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । असंगठित रुपमा रहेका सो बिद्यालयका भूपू बिद्यार्थीहरुले ६÷७ बर्ष अघिदेखि विभिन्न सेवामुलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएकोमा गत बर्ष फागुन ३ देखि संगठित रुपमानै त्यस किसिमको कार्यक्रम गर्दै आएका छन ।

यस बर्ष १६ माघ अर्थात आउँदो शुक्रबार आयोजना गरिएको बृहत पुनःर्मिलन, सम्मान तथा वनभोज कार्यक्रमको अवसरमा पहिलो चरणमा लामो समय बिद्यालय प्रशासनको जिम्मेवारी सम्हालेका बिद्यालयका पूर्व प्रधानाध्यापकहरु र लामो समयदेखि सेवारत बिद्यालय कर्मचारी भिमप्रसाद खनाल ( बाजे)लाई विशिष्ट सम्मान गरिने भूतपूर्व बिद्यार्थी समाजका उपाध्यक्ष सुवास मोक्तानले जानकारी दिए । उनले यस किसिमको सम्मान कार्यक्रमलाई बर्षेनी आयोजना गरिने कार्यक्रमहरुमा जोडदै लैजाने संस्थाको आगामी योजना रहेको पनि बताए ।

कार्यक्रमको पूर्व तयारी स्वरुप यस अघि भएका चरणबद्ध छलफल पश्चात बिद्यालय परिवार, गाउँपालिका कार्यालय , १ नम्बर वडा कार्यालय लगायतमा औपचारिक रुपमा संस्थागत निमन्त्रणा गरिएको र भूपू बिद्यार्थीहरु देश विदेश सम्म छरिएको अवस्थामा भएकाले सबैलाई सार्वजनिक सूचना मार्फत कार्यक्रममा सहभागिताका लागि आव्हान गरिएको आयोजक संस्थाका सचिव भवानी काफलेले जानकारी दिए ।

सो अवसरमा गत बर्षको भेलाबाट गठन गरिएको नेत्र पौडेल, सुवास मोक्तान र राजेन्द्र उप्रेती सम्मिलित बिधान मस्यौदा समितिले तयार गरेको संस्थाको बिधानको मस्यौदालाई अन्तिम रुप दिईने , संस्थाको साधारण सदस्यता वितरण शुभारम्भ गरिने र विभिन्न विभागीय समितिहरु समेत निर्माण लगायतका कार्यक्रमहरु बृहत भेलामा गरिने संस्थाका सचिव भवानी काफलेले बताए । यस किसिमको ऐतिहासिक महत्व राख्ने कार्यक्रममा सार्वजनिक सूचना मार्फत भएपनि सहभागिता जनाइदिन आयोजक समितिले अपिल गरेको छ । सहभागिताका लागि सम्पर्क गर्नुपर्ने अन्तिम समय सीमा बुधबार दिउँसो १२ बजे सम्मका लागि तोकिएको छ । त्यस अगावै बिद्यालय वा आयोजक समितिसंग सम्पर्क गरि आफनो नाम दर्ता गराउन सो बिद्यालयमा कुनैपनि कालखण्डमा अध्ययन गरेका सम्पूर्ण भूपू बिद्यार्थी तथा अध्यापन गराउने शिक्षकहरुमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय