बागलुङ, १२ फागुन । २ करोड ५० लाख राहत रकम नगरपालिकाको खाता थुप्रियो। सरकारले बागलुङलाई विपद ग्रस्त जिल्ला घोषणा गरेको ६ महिना बितिसक्दा पनि बाढी पहिरोका कारण घरबास गुमेकाहरु अझै आफन्त, विद्यालय तथा सामुदायिक भवनमा आश्रय लिएर बस्न बाध्य छन् ।जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकाका बाढी पहिरोबाट घरबास गुमाएकाका लागि जनस्तरबाट उठेर बैंकमा थुप्रिएको २ करोड ५० लाख रूपैयाँ अहिलेसम्म वितरण हुन सकेको छैन । जनतालाई तत्काल राहत दिएर पुनर्निर्माण गर्न सहयोग गर्ने भनेर ६ महिनापछि मनसुन जन्य बिपद प्रभावित निजी आवास पुनर्निर्माण–पुनस्र्थापन कार्यविधि जिल्ला प्रशासन कार्यालय बागलुङमा पठाएको छ ।

देश तथा बिदेशबाट बागलुङ ढोरपाटनका बाढी पहिरो पीडितलाई सहयोग स्वरूप नगरपालिकाको एकद्वार खातामा जम्मा भएको रकम तत्काल वितरण गर्नुपर्ने सरोकारवालाहरुको माग छ । ढोरपाटनका बाढी पहिरोले घरवारविहीन भएकाहरूको लागि जनस्तरबाट उठेको सहयोग रकम दिने तयारी भइरहेको तथा केन्द्र र प्रदेश सरकारबाट समेत सहयोग माग गरिरहेको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीले जानकारी दिनुभयो ।अहिले सरकारले बनाएको कार्यविधि अनुसार पुर्ण रूपमा घरवार बिहिन भएका ब्यक्तिलाई पहाडी क्षेत्रमा ४ लाख हिमाली क्षेत्रमा ५ लाख र तराई क्षेत्रमा ३ लाख रकम घर पुनर्निर्माणको लागि दिने नीति बनाएको रकम जिल्लामा आएपछि कार्यक्रम अगाडि बढाउने योजना नगरपालिकाको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय