झापाको दमकमा दुर्घटना गराएर फरार रहेका एक जना चालकलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ । दमक नगरपालिका–९ का ३१ वर्षीय युवराज तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरिक्षक दिपेश कार्कीले जानकारी दिनुभयो । आइतबार पक्राउ परेका तामाङविरुद्ध सवारी ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको उहाले बताउनुभयो । दमक–५ का ७९ वर्षीय केवल भनिने कमलप्रसाद खरेल गत मंसिर ६ गते बिहान पूर्व–पश्चिम राजमार्गको पाथीभरा पेट्रोल पम्पनजिकै सडक किनारमा लडिरहेको अचेत अवस्थामा फेला परेका थिए । उनलाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो । तर, प्रहरीले २ महिना भन्दा बढि समयसम्म ठक्कर दिने सवारीको सुईकोसम्म् पाउन सकेको थिएन । मृतकका आफन्तहरुको चर्का दबाबपछि प्रहरीले बिशेष टोलीनै खटाएर घटनाको शुष्म अनुसन्धान गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानपछि खरेललाई सवारी साधनले ठक्कर दिएको खुल्यो । त्यसपछि प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधनको खोजी गरिरहेको थियो । तामाङलाई को १ ख ४१४२ नम्बरको मिनी ट्रकसहित पक्राउ गरिएको प्रहरी निरिक्षक कार्कीले जानकारी दिनुभएको छ । उहाका अनुसार तामाङले हाँकेको उक्त ट्रकको ठक्करबाट वृद्धको ज्यान गएको यकिन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय