अनिल पौडेल “किर्ते”, टाँडी ८ मोरङ
आदरणीय मार्क्स ज्यू, जी गरेँ ।
तपाई चाँडो जन्मेर हो या म ढिलो जन्मेर हो अथवा अन्य भैपरी आएका अनपेक्षित कारणले हो…हाम्रो भेट हुन सकेन जुन आवश्यक पनि थिएन ।
म सूर्यमा पुस्तौँदेखि छाप लाउँदै आएको परिवारको मान्छे तर केही बुझेर हैन विकल्प झन् खराब लागेर । जनवादी भनिएका धनवादीहरुले मार्क्सवाद भनेको सूर्य बुझाए मैले त्यसैमा छाप हानेँ गरिबका हुन् मार्क्स भने सबले मैले त्यो छाप तपाईकै निधारमा पर्छ ठानेँ
कोही मार्क्सवाद भनेर डुक्रिन्छन् कोही लेनिन भनेर उफ्रिन्छन् तिनिहरुले बुझेको मार्क्सवाद तपाईँको फोटो हो झ्याप्प दार्ही झ्याप्प कपाल मान्छे अलिक छोटो हो
तपाइँकै बिचारले कसैलाई त्रिशुलीमा हुर्याइयो कसैला टुप्पै पदमा पुर्याईयो कसैले दरबार खडा गरे, कसैले घरबार झगडा गरे दुईसय वर्षसम्म देखाइरहे एउटै नाँच आजचैँ तपैँलाई नै देखाउने दिन- मे पाँच
तपाईको पूँजी पढ्न खोजेँ आँटै आएन त्यत्रो ठेली पढ्नेहरू भएकाछन् यो समाजका नामुद झेली आफैँ दास भएर capital मा धुलोमा घुलेको मैले तपाइँको Das capital हेर्ने मौका पाउँ कैले ?? आफैँ पूँजी बिहिन भएको यौटा फिरन्ता म नाना,खाना र छाना भुलेर तपाईंको पुँजीका पाना कहिले पल्टाउँ हँ ??

तपाईं ट्रियरमा हामी टियरमा टियरमा पार्नेहरू चुर्लुम्म डुबेका छन् बियरमा साँझ परेपछि भट्टीमा थुप्रै मार्क्सहरू थुप्रिन्छन् खिया लागेका दिमागी फोल्डर “तेल” हालेपछी उघ्रिन्छन् जब तेलको मात्रा बढ्दै जान्छ सिद्धान्तको पारो चढ्दै जान्छ जब जिब्रो लट्पटिएर सिद्धान्त सि..सि बन्छ तब तपाईंलाई कस्ले गन्छ ! यस्ता मार्क्सहरु मास्क लगाएर सडकमा असरल्ल देखिन्छन् तिनै मार्क्सका “सिद्धान्त” आजै अखबारमा लेखिन्छन्
न मलाई मार्क्सवाद थाहा छ न त अहिलेसम्म थाहा पाउनै पर्यो न त कसैले बुझायो न त सोध्न तपाईँसम्म आउनै पर्यो बाले बुझेको मार्क्सवाद एमालेको सूर्य मैले बुझेको मार्क्सवाद जर्मनीको बूढो बाको मार्क्सवाद कुँडोमा घुलियो भैँसीले चपायो मेरो मार्क्सवाद चुनावको मुखैमा पार्टीले छपायो
तपाईजस्तो मान्छेलाई ढुङ्गाको बनाएर राखेका छन् अलपत्र सडकमा ज्यूँदा शहीदहरू हिँड्छन् यत्रतत्र सडकमा कोही हेर्दैनन्,कोही टेर्दैनन् पोत्छन् यस्तो कालो रङ्ग फेर्दैनन् तब सोचमग्न हुन्छु… समाजवादको सेकुवा खाएर साम्यवादको छोईला निकाल्ने स्यालहरूले MAY पाँचको यो नाँचमा आजको साँझ तपाईंलाई पनि बोलाए हुन्थ्यो नि !!










