प्रज्वल अधिकारी,
पसिना जहिल्लै जिस्किबस्छ- आमासँग !
कहिले आमाको निधारको बाटो भएर गुडुल्किन्छ
कहिले शिरबाट गाला हुँदै
चिउँडोको टुप्पोमा आएर पिँङ खेल्छ
कहिले चाउरी भित्रै हराईदिन्छ
कहिले नाकको टुप्पोमा बसेर
आमाका आँखासँग आँखा जुधाईबस्छ
उ आमालाई बेहद मन पराइदिन्छ
कहिलेकाही आमा -
निधारमा बसेको उसलाई औँलाले सोर्छिन र
खन्दै गरेको बारीमा प्रेमपुर्वक सिंचाइ गर्छिन
पटुकीले पुछ्छिन र सप्रेम राख्छिन
धोतीको सप्कोले हम्किन्छिन र मायाले लुकाउछिन
कति मज्जाले
लछप्पै भिजाईदिन्छ उसले आमाको देह
र फुरुक्क फुर्किन्छ
कति मज्जाले लपक्क टाँसिन्छ
र सच्चा प्रेमी बनिदिन्छ
रहरलाग्दो गरि आमासँग लाडिदै मस्किबस्छ
पसिनाले भिज्दा आमा अति सुन्दर देखिन्छिन
यस्तो लाग्छ
प्रकृतिले आफ्नो लागि कभर फोटो सुट गर्दैछ !
डोको बोक्दा होस या भारी बोक्दा
या होस ढिकीजाँतो गर्दा
हरदम आमासँगै साहरा बनेर बस्छ
श्रमसँग युद्द लड्दा आमा
आमाको देहमा सितलता बनेर बर्सिन्छ !
कर्मको नुनिलो स्वाद हो उ
जसलाई आमाले बेहद मीठो मान्छिन
सच्चाईको पर्यायवाची हो उ
जो आमाको हृदयमा बस्छ
उ र आमा उस्तै स्निग्ध छन
उ र आमाको ममता उस्तै पारदर्शी छन
आमासँग हरपल संवाद गरिरहने उ
आमाको एकमात्र नजिकको साथी हो
आमासँगै रहने उ
आमाको श्रमको एकमात्र साक्षी हो
र उसको आमासँग मात्रै होइन
बाबासँग पनि उस्तै घनिष्ठ मित्रता छ ।










