बाको नाम जान्ने मान्छेले राखे केशवराज हुनगयो आफ्नो चैँ चोकराज हुनगयो भन्न पनि लाज हुनगयो पत्याउँदैनन् देख्नेले तर २६ वर्ष जेठा छन् बाउ चैँ खुद मेरै बाउ हुन् तर म भन्दा केटा छन्

च्यवनप्रास ग्लुकोजको स्वाद जानेनन् ढिँडो खाएर हुर्किए कति मोटो हाम्रो नानी हजुरबा हजुरआमा फुर्किए मैले खानपाएँ अनेक–अनेक तर भोकै हुर्केजस्तो भएँ दिनैपिच्छे अलिअलि अलिअलि खुर्के जस्तो भएँ

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिलेसम्म बाघ जस्तै छन् कहिल्यै अस्पताल जानु परेन ढुङगामाटो के–के खाए पचाए कहिल्यै पाचक खानु परेन जन्मिएको महिना एउटै पर्‍यो तर साल मिलेन उस्तै–उस्तै छ अनुहार तर जिउडाल मिलेन

बाको जनै घाँटीमा थियो मेरो जनै काँटीमा छ बाले धोती फेरे खाना खाए मलाई फेर्नै आएन टाटीमा छ बाले आगो खाए कोइला निकाले मैले राँगो खाएँ छोइला निकालेँ

बा होटल पस्दैनन् भन्छन् होटलमा घिन लाग्छ मलाई घरमा खाको पच्न लगभग हप्ता दिन लाग्छ बाका पालामा बियर थिएनन् कहिल्यै स्वाद चाख्न पाएनन् चाँदी जस्ता मःमःका गोली क्वाप्प मुखमा राख्न पाएनन्

त्यही भएर बा सोच्छन् मेरो छोरो बियर सियर खराब ठान्छ हो, म बोतल चैँ खराब ठान्छु भित्रको जलचैँ सर्वत जसरी जान्छ

बाले केटी कहिल्यै जिस्क्याएनन् मैले केटा कहिल्यै जिस्क्याइनँ भान्सामा पस्दा बाको जिब्रो पड्किन्थ्यो ढिँडो, गुन्द्रुकको बास्नाले मेरो त चोकमा बस्दा जिब्रो पड्किन्छ युवती हाँस्नाले त्यो बेला कपडा सस्तो थियो जिउ ढाकेर बेर्थे लभ गर्नेहरुलाई नो अप्सन आँखैमा मात्र हेर्थे

सोझा थिए बाउ जानेनन् कहिल्यै झेल अनि छल जानेनन् कहिल्यै पिउन पनि जादुवाला जल सबै–सबै बदलियो समय खै के नै कुरा मिलो ? धन्न बा नै पहिला जन्मिए म चैँ अलि ढिलो

बाले दहीमही खाएर नाचे भन्थे रे यो त थाक्दै थाक्दैन आफ्नो त एक क्वार्टर नलाई नाच्न खुट्टा लाग्दै लाग्दैन बालाई पुर्ख्याैली खानदान, पावर, इज्जतको दमले नचाउँथ्यो मलाई वर्तमान बियर, ह्विस्की, भोड्का अनि रमले नचाउँछ

बाले शुद्ध अकबरे ढिँडी के हो जाने, मैले भोटे, इँटा, चिडी के हो जानेँ बाले माथि चढ्ने सिँढी के हो जाने, मैले एकै सर्कोमा बिँडी के हो जानेँ बाले रोधी, मारुनी, चण्डी जाने, मैले लङ्गुर, बुर्जा, झण्डी जानेँ दुख पर्दा रोए अरे बाउ खै दुख के हो मैले त कहिल्यै रुनु परेन धन्न मेरा बाउ चैँ म र मैले चैँ उनको बाउ हुनु परेन

बाउ बिहान देखि बेलुका खट्थे, छोरो आधा घण्टामै थलिन्छ भटभटेको पाङ्ग्रो जत्रो कानमा मुन्द्रा हल्लिन्छ बाले म्यादी पुलिस जस्तो पाइन्ट लगाए ५ वर्षसम्म फिट भइरह्योे छोरो दिनहुँ कपडा फेर्ने काममा सधैँ हिट भइरह्यो

बाले बोरामा बोकेर बारीमा मल डुलाए छोराले बाइकमा बोकेर अर्काकी छोरी फिलिम हल डुलायो बाले खेतमा दिनभरी फाली घुमाए छोराले पार्कमा दिनभरी काली घुमायो

त्यही हुनाले बाले डोको अनि डाली के हो जाने मैले ओठको रातो लाली के हो जानेँ बाले बाली, फाली, नाली के हो जाने मैले ताली, गाली अनि काली के हो जानेँ

किन होला बालाई थाहा भको सबै कुरा मलाई था नभाको किन होला उनी चैँ मेरा बा.... म चै कसैको बा नभाको ?



अनिल पौडेल ‘किर्ते’