काठमाडौं — स्पेनमा एक छोराले आफ्नी आमाको निर्मम हत्या गरेको खतरनाक घटना सार्वजनिक भएको छ ।
राजधानी मड्रिडको लास भेटान्समा बस्ने एक व्यक्तिले आमालाई मारेर उनको शरीरलाई टुक्राटुक्रा बनाएर घरपालुवा कुकुरलाई खुवाएको बताइएको छ ।
मिडिया रिपोर्टअनुसार, अल्बर्टो साञ्चेज गोमेजले आमा मारिया सोल्डेड गोमेजलाई मारेका हुन् । आमा हराएपछि प्रहरी अनुसन्धानका लागि घर आएका बेलामा घटनाको खुलासा भएको हो ।
घरमा तलाशी लिने क्रममा कम्तीमा ६ वटा प्लास्टिक थैलीमा महिलाका शरीरका अंग पाइए । आरोपी साञ्चेजले आमाका अनेकौं अंग फोहर फाल्ने ठाउँमा राखेका थिए ।
स्पेनी पत्रिका एल मुन्डोका अनुसार, प्रहरीसमक्ष उनले आफ्नी आमाको शवको एक हजार टुक्रा गरेको स्वीकार गरेको छ । सजिलै नष्ट गर्न सकिने आशामा उनले त्यति धेरै टुक्रा पारेका थिए ।
अनुसन्धानका क्रममा प्रहरीले महिलाका महत्त्वपूर्ण अंग भेटेन ।
साञ्चेज बेरोजगार थिए तर पहिले उनी वेटरको काम गर्थे । आरोपितले आमाको हत्या कसरी गरे भनी प्रहरीले बताएको छैन ।
उनका साथीहरूले बताएअनुसार, उनले ड्रग खान थालेका थिए र परिवारका लागि समस्या बनेका थिए । उनी घरअगाडिको पार्कको बेन्चमा बसेर समय बिताउँथे ।
आरोपितले आमाको हत्या एक महिनाअघि गरेको हुन सक्ने अनुमान गरिएको छ । तर एक छिमेकीले महिलालाई एक हप्ताअघि सनबाथ गरेको देखेको बताए ।
यसअघि पनि आरोपितलाई घरेलु हिंसाको मामिलामा प्रहरीले पक्राउ गरेको थियो ।
एजेन्सी



