काठमाडौं – अस्ट्रेलियाको न्यु साउथवेल्समा एक स्मार्टफोनले एक व्यक्तिलाई तीखो वाणको प्रहारबाट बचाएको छ । वाण लागेका मानिसको चिउँडोमा चोट लाग्यो तर वाणले नभई स्मार्टफोन चिउँडोमा ठोकिएकाले चोट लागेको हो । चोट सामान्य भएकाले चिकित्सककहाँ जानु पनि परेन । स्मार्टफोनका कारण यसरी ती व्यक्तिको ज्यान बच्यो ।

ती ४३ वर्षीय व्यक्ति निम्बिनस्थित आफ्नो घर गइरहेका थिए । घरबाहिर उनले कार रोक्दा एकजना व्यक्ति धनुषवाण लिएर उभिएको देखिए । उनले फोटो खिच्नका लागि हातमा स्मार्टफोन लिए ।
उनले फोटो खिच्न खोज्दा वाण फोनमा ठोकियो । तीव्र गतिमा आएको वाणले फोनलाई टुक्र्यायो र फोन गएर उनको चिउँडोमा ठोकियो ।
न्यु साउथवेल्स प्रहरीले आक्रमणकारीको पहिचान गरेको छ । उनी निम्बिनमै बस्छन् । प्रहरीले उनलाई पक्राउ गरेर लिसमोर अदालतमा पेश गरे र सशर्त जमानतमा रिहा गरे ।
एजेन्सी



