काठमाडौँ — भारत पाँचौं पटक साफ वुमेन्स च्याम्पियनसिप बनेको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनल खेलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले उपाधि उचालेको हो । दिउँसो ३ बजेदेखि सुरु भएको खेलको २६ औं मिनेटमा भारतका लागि डालिमा चिबरले फ्रि किकमार्फत् गोल गरेकी थिइन् । नेपालका तर्फबाट खेलको ३३ औं मिनेटमा सावित्रा भण्डारीले १ गोल फर्काइन्। पहिलो हाफमा नेपाल र भारतले बराबरी खेलेका थिए। तर, दोस्रो हाफमा ग्रेस डाङमीले ६३ औं र अञ्जु तामाङले ७८ मिनेटमा गोल गरेपछि भारत विजयी बन्न सफल भएको हो।

पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य लिएको नेपाल डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा भिडिरहेको छ। विराटनगरस्थित सहिद रंगशालामा दोस्रो हाफको खेल चलिरहँदा भारतले अग्रता लिइरहेको छ। ८५ औं मिनेटको खेल जारी रहँदा भारत-नेपाल ३-१ गोल अन्तरमा रहेको छ।
नेपाल र भारत खेलको पहिलो हाफमा १-१ बराबरीमा थिए। तर, दोस्रो हाफमा भारत २ गोल थप्दै अगाडि आएको हो। भारतका तर्फबाट ग्रेस डाङमी, डालिमा चिबर, अञ्जु तामाङले गोल गरेका थिए भने नेपालका तर्फबाट सावित्रा भण्डारीले गोल गरिन्।
नेपाली महिला टिमका लागि घरेलु भूमिमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । खेलाडीलाई घरेलु मैदान र दर्शकको साथ छ । कप्तान निरु थापाका अनुसार प्राविधिक रूपमा अहिलेको टिम उत्कृष्ट पनि छ । यो साफका तीनै खेलमा गोल गरेकी सावित्रा भण्डारीलाई दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मानिन्छ ।
विंगर अनिता बस्नेत, मिडफिल्डर रेनुका नगरकोटे र डिफेन्डर गीता राना, हिराकुमारी भुजेल उत्कृष्ट लयमा छन् । भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न सजिलो भने हुनेछैन । छिमेकी भारत चिरपरिचित प्रतिद्वन्द्वी हो । नेपालले दक्षिण एसियालीस्तरको प्रतियोगितामा पराजित गर्न हम्मे परेको टिम भारत नै हो ।
नोभम्बर, २०१९ मा यांगुनमा भएको ओलम्पिक छनोटको प्रारम्भिक चरणमा नेपालले भारतविरुद्ध १–१ को बराबरी गरेको थियो । गत महिना हिरो वुमेन्स गोल्डकपको समूह चरणमा भारतलाई उसैको घरेलु मैदान (भुवनेश्वर) मा २–१ ले हरायो । त्यो नै भारतविरुद्ध नेपालको पहिलो जित थियो । त्यसअघि भारतसँग ७ हार र २ बराबरी नतिजा बेहोरेको थियो ।



