काठमाडौं, चैत १४ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार दोस्रो हार बेहोरेको छ । मुम्बई इन्डियन्ससँग ६ रनले पराजित हुँदै १२औं संस्करणको आइपीएलमा बैंग्लोरले लगातार दोस्रो हार बेहोरेको हो ।

बिहीबार राति भएको खेलमा मुम्बईले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनायो । उसका लागि एबी डी विलियर्सले नटआउट ७० रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, कप्तान कोहलीले ४६, पार्थीव पटेलले ३१, मोइन अलीले १३ रन जोड्नुबाहेक अन्यको प्रदर्शन सम्झनलायक भएन । बलिङमा मुम्बईका जसप्रित बुमराहले ३ विकेट लिँदै म्यान अफ द म्याच घोषित भए ।
यसअघि, टस हारेर बलिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८७ रन बनायो । उसका लागि कप्तान रोहित शर्माले ४०, शूर्यकुमार यादवले ३८, युवराज सिंह, क्विन्टन डी ककले २३–२३ रन बनाए । यस्तै हार्दिक पाण्ड्याले १४ बलमा ३२ रन बनाए । त्यसक्रममा उनले ३ छक्का र २ चौका प्रहार गरे । बलिङमा बैंग्लोरका युजवेन्द्र चहलले ४, उमेशकुमार यादव र मोहम्मद सिरिजले दुई–दुई विकेट लिए ।
पहिलो खेलमा बैंग्लोरले चेन्नई र मुम्बईले दिल्लीसँग हार बेहोरेको थियो । बिहीबारकाे खेलमा विराटको टिमले चेन्नई विरुद्ध खेलेको टोलीलाई नै मैदान उतारेको थियाे । यता, मुम्बईले भने २ खेलाडी परिवर्तन गर्यो । उसले बेन कटिङ र रासिख सलामलाई विश्राम दियाे । उनीहरुको स्थानमा मयंक मार्कडे र लसिथ मलिंगालाई मौका दिएको थियाे । यस्तो थियो दुवै टिम–
बैंग्लोरः विराट कोहली (कप्तान), पार्थिव पटेल (विकेटकीपर), मोईन अली, एबी डि विलियर्स, शिमरोन हेटमेयर, शिवम दूबे, कोलिन डी ग्रैंडहोम, नवदीप सैनी, युजवेद्र चहल, उमेश यादव र मोहम्मद सिराज ।
मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), सूर्यकुमार यादव, युवराज सिंह, कीरोण पोलार्ड, हार्दिक पांड्या, क्रुणाल पांड्या, मयंक मार्कंडे, मिशेल मैक्लेनाघन, लसिथ मलिंगा, र जसप्रीत बुमराह ।



