मिस एटम
रुसमा सन् २००४ देखि २०११ सम्म आठ वर्ष मिस एटम सौन्दर्य प्रतियोगिता भएको थियो । परमाणु ऊर्जा कम्पनी ‘न्युक्लियर डट आरयू’ले आयोजना गरेको प्रतियोगितामा परमाणु ऊर्जा उद्योगमा काम गर्ने महिला, अनुसन्धाता र परमाणु ऊर्जाका विद्यार्थीले भाग लिन सक्थे । प्रतियोगितामा रसिया, बेलारुस, युक्रेन, कजाख्स्तान, लिथुआनियाका महिला सहभागी हुन्थे ।

मिस कन्डम
हरेक वर्ष डिसेम्बर १ का दिन थाइल्यान्डमा मिस कन्डम प्रतियोगिता हुन्छ । एड्स दिवसकै दिन यो तथा अन्य यौनजन्य रोगप्रति जनचेतना जगाउन यस्तो प्रतियोगिता हुन्छ । सुरक्षित यौन सम्बन्ध प्रवद्र्धन गर्ने उद्देश्यले हुने प्रतियोगितामा प्रतिस्पर्धीले कन्डम फुक्ने गर्छन् । कन्डम फुक्ने सीप र एचआईभी एड्सको जानकारीका आधारमा विजेता घोषणा गरिन्छ ।
मिस बारुदी सुरुङ
सन् २००८ मा अंगोलामा मिस ल्यान्डमाइन सर्भाइभर सौन्दर्य प्रतियोगिता भएको थियो । बारुदी सुरुङमा परेर अंगभंग भएका महिलाले यस प्रतियोगितामा भाग लिएका थिए । नर्वेका कलाकार मोर्टन ट्राभिकको सक्रियतामा बारुदी सुरुङसम्बन्धी मुद्दा उठाउन आयोजना गरिएको प्रतियोगिताको अर्काे संस्करण सन् २००९ मा कम्बोडियामा हुने तय थियो तर त्यहाँको सरकारले अनुमति नदिएपछि उक्त प्रतियोगिता हुन पाएन ।

मिस दुधालु गाई
सन् २०१२ मा चीनको सुओझाउ शहरमा मिस दुधालु गाई प्रतियोगिता भएको थियो । प्रतियोगितामा दुई सयभन्दा बढी गाईपालक कृषकले आफ्ना गाईलाई प्रतियोगी बनाएका थिए । दूधको गुणस्तर, गाईको रूप–आकार आदिलाई निर्णायक मण्डलले ध्यानमा राखेको थियो । सम्पूर्ण साप्ताहिक बाट साभार



