चितवन, ९ असोज । पूर्वगृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुली नदीमा बेपत्ता भएको छ । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार पृथ्वी राजमार्गअन्तर्गत कुरिन्टार र मुग्लिनको बीचमा पर्ने घोप्टे भिरबाट त्रिशुली नदीमा खसेको हो ।
कारसँगै नदीमा खसेका मध्ये ३ जनाको शव भेटिएको छ । त्यसमध्ये एक महिला रहेको प्रहरीले जनाएको छ । चालकलाई भने घाइते अवस्थामा उद्धार गरिएको थियो । उनलाई उपचारका लागि भरतपुर पठाइएको छ । घिमिरेसहित ३ जना भने अझै बेपत्ता छन् ।
घिमिरे खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषदमा गृहमन्त्री थिए । उनी पूर्वमुख्यसचिव समेत हुन् । प्रहरीले खोजी कार्य जारी राखेको छ ।



