काठमाडौं । भारतीय सेनाका अनिष थापामगर र त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढा नवौं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ मा च्याम्पियन बनेका छन् ।
कान्तिपुर मिडिया ग्रुपको आयोजनामा शनिबार भएको म्याराथनमा अनिषले दोस्रो भएका दुर्घा बुढालाई ५ सकेन्डले पछि पार्दै दोस्रोपटक उपाधि जित्न सफल भएको हुन् । अनिष चौथो संस्करणको विजेता हुन् ।
अनिषले निर्धारित दुरी १ घन्टा ८ मिनेट ४ सेकेन्डमा पुरा गर्दा दुर्गा बुढाले १ घन्टा ८ मिनेट ९ सेकेन्डको समय निकाले । आर्मीका कृष्ण बस्नेत १ घन्टा ९ मिनेट २ सेकेन्डसहित तेस्रो भए । गजेन्द्र राई, किरण सिंह बोगटी र रामजी बस्नेतले चौथो, पाँचौ र छैटौं स्थान हात पारे ।
महिलातर्फ च्याम्पियन बनेकी आर्मीकी विश्वरुपा बुढाले निर्धारित दुरी १ घन्टा २३ मिनेट २८ सेकेन्डमा पार गरिन् । विश्वरुपा पनि दोस्रो पटक च्याम्पियन बन्न सफल भएकी हुन् । विश्वरुपा यसअघि पाँचौ संस्करणमा च्याम्पियन बनेकी थिइन् ।
काठमाडौंकी सन्तोषी श्रेष्ठले १ घन्टा २४ मिनेट १ सेकेन्डसहित दास्रो र बृन्दा ढाके श्रेष्ठले १ घन्टा २४ मिनेट ५८ सेकेन्डका समय निकाल्दै तेस्रो स्थान हात पारिन् । फुलमती राना, रेखा विष्ट र सरस्वती खड्काले चौथो, पाँचौ र छैटौं स्थान हात पारे ।
हाफ म्याराथनको पुरुष र महिला विजेताले १ डुएट स्कुटीसँगै समान ५० हजार रुपैया जिते । दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार जिते चौथो देखि छैटौ सम्मले १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाए ।
५ किलोमिटर कर्पोरेट र मिडिया दौडको उपाधि पुरुषतर्फ राजेश खड्काले जितेका छन् । राजेशले अजय तामाङलाई ३५ सेकेन्डले पछि पार्दै उपाधि हात पारे । राजेशले १७ मिनेट २० दशमलव ०८ सेकेन्डमा निर्धारित दुरी पुरा गरे । अजयले १७ मिनेट ५५ दशमलव ९५ सेकेन्डमा दुरी पुरा गरे । उत्तम श्रेष्ठले १८ मिनेट १२ दशमलव ५६ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हात पारे ।
महिलामा काजल विष्टले २१ मिनेट २३ दशमलव ५ सेकेन्डको समय निकाल्दै च्याम्पियन बनिन् । जुनेली सुनारले २३ मिनेट १९ दशमलव २ सेकेन्डसहित दोस्रो तथा सुनिता गोतामेले २४ मिनेट ०९ दशमलव ७ सेकेन्डसहित तेस्रो स्थान हात पारिन् ।
मिडिया र कर्पोरेटतर्फका महिला र पुरुष विजेतालाई बैंककमा ३ रात र ४ दिनको घुम्ने प्याकेज जितेका छन् । दोस्रो हुनेलाई पोखरामा २ रात र ३ दिनको घुम्ने प्याकेज तथा तेस्रो हुनेलाई माउन्टेन फ्लाइटको टिकट जिते ।
ह्विलचेयर विधामा पुरुषतर्फ रामबहादुर तामाङ पहिलो, प्रेम बहादुर विक दोस्रो र मोहन बस्नेत तेस्रो भए । महिलातर्फ यामी झाँक्री मगर पहिलो, रजनी राई दोस्रो र बबिता थापा दोस्रो भए । ह्विलचियरतर्फ महिला र पुरुष दुवैको पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पाए ।
थापाथलीबाट सुरु भएको ‘कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै थापाथलीमै आएर टुंगिएको थियो ।
मिडिया कर्पोरेट दौड थापाथली, माइतीघर मण्डला, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ति लगाएर पुनः बानेश्वर मन्डला, माइतीघर, थापाथलीमा गएर टुंगियो । ह्विलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगियो ।
प्रदुषणविरुद्ध चेतना फैलाउने मुख्य नारा बोकेको म्याराथनलाई सिटिजन्स बैंकले मुख्य प्रायोजन गरेको थियो । अन्य सहयोगी संस्थाहरु पनि रहेको थियो ।
कान्तिपुर हाफ म्याराथनका हालसम्मका सम्मका विजेताहरु
२०६७– अर्जुन कुमार बस्नेत / कान्छीमाया कोँजु२०६८– हरि कुमार रिमाल / बृन्दा श्रेष्ठ२०६९– कल्याण बाँनिया / कान्छीमाया कोँजु२०७०– अनिष थापामगर / कान्छीमाया कोँजु२०७१– हरि कुमार रिमाल / विश्वरुपा बुढा२०७२– गोपीचन्द्र पार्की / रेशु बस्नेत२०७३– हरि कुमार रिमाल / कान्छीमाया कोँजु२०७४-०७५ – हरि कुमार रिमाल / कान्छीमाया कोँजु२०७५–०७६ – अनिष थापामगर / विश्वरुपा बुढा



