झापाको कमलगाँउपालिकास्थित आदिवासी रंगशालामा आयोजना हुन लागेको पूर्वाञ्चलस्तरिय फूटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । यही चैत्र २५ गते देखि २ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको हो । आयोजक संस्था नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानले सोमबार दमकमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष गणेश आङदेम्बेले पूर्व निर्धारित समय भन्दा पाँच दिन पछि सारेर प्रतियोगिता शुरु गर्न लागिएको बताए । यसअघि प्रतिष्ठानले चैत्र २० गते प्रतियोगिताको तय सार्वजनिक गरेको थियो । अध्यक्ष आङदेम्बेले आन्तरिक प्राविधिक कठिनाईका कारण उक्त प्रतियोगिता यहि चैत्र २५ गतेदेखि निर्धारित खेल मैदानमा हुने जनाए ।
प्रतियोगितामा पूर्वका सैनिक स्पोर्टिङ्ग क्लब, लखनपुर ११ , काँकडभिट्टा फुटबल ट्रेनिंङ सेन्टर, उर्लावारी फुटबल क्लब, प्रहरी तालिम केन्द्र रानी, शसस्त्र प्रहरी विभागीय टिम लखनपुर, शरणामती फुटबल क्लब झापा, विर्तामोड युनाईटेड क्लब सहित ८ टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा विजेताले नगद १ लाख १ हजार १ सय ११ , उपविजेताले ५० हजार १ सय ११ रुपैया,ट्रफि तथा प्रमाणपत्र पाउने प्रतिष्ठानका सचिव विष्णु सुब्बाले बताए ।
पत्रकार सम्मेलनमा वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले मगर ( मामा ), खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शी ,कलाकार विपीन प्रसाईलगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा कमलगाँउपालिका, दमक नगरपालिका, गोर्खा स्पोर्टिङ क्लव,विभिन्न व्यापारिक प्रतिष्ठान, देश विदेशका शुभेच्छुकहरुले सहयोग गरेका छन् । प्रतिष्ठानको आन्तरिक अक्षय कोष स्थापनार्थ आयोजना हुन लागेको त्यस प्रतियोगितामा करिव १० लाख ५० हजार बराबरको खर्च हुने अनुमान गरिएको सचिव सुब्बाले जानकारी दिए ।



