आश्विन ११, २०७३-
निर्देशक देवकुमार श्रेष्ठद्वारा निर्देशित दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी अभिनित चलचित्र ‘लालटिन’ को पोस्टर सार्वजनिक भएको छ तर पोस्टर सार्वजनिक भएकै दिन उक्त पोस्टर हलिउड चलचित्र ‘भान्टेज प्वाइन्ट’ को हुबहु नक्कल भन्दै सामाजिक सञ्जालमा आलोजना समेत भैरहेको छ ।
डिभिडीमा भ्रेँ
दुई वर्षअघि निर्माण गरिएको माओत्से गुरुङद्वारा निर्देशित गुरुङ भाषाको चलचित्र ‘भ्रेँ’ को डिभिडी पोखराबाट सार्वजनिक भएको छ । डिभिडी सार्वजनिक समारोहमा चलचित्रकी नायिका रजनी गुरुङ, छायांकार तथा सम्पादक सन्तोष कोन्मे एवं मेकअपम्यान आशिष गुरुङलाई सम्मान गरिएको थियो ।
सुब्बा सा’बको ट्रेलर
असोज २१ लाई प्रदर्शन मिति तोकेको राजु अधिकारीद्वारा निर्देशित चलचित्र ‘सुब्बा सा’बको ट्रेलर सार्वजनिक भएको छ जसमा जीवन लुइँटेल, सरोज खनाल, गौरी मल्ल, महिमा सिलवाल, वर्षा शिवाकोटी आदि कलाकारले अभिनय गरेका छन् ।
फूल तारा…
योगेश घिमिरेद्वारा निर्देशित चलचित्र ‘राधा’ को ‘फूल सारा बेकार छन्’ गीतको भिडियो सार्वजनिक भएको छ जसमा जीवन लुइँटेल तथा सञ्चिता लुइँटेलले अभिनय गरेका छन् । वसन्त सापकोटाको संगीतको यो गीतमा राजेशपायल राईको स्वर
सुन्न सकिन्छ ।
बिजुली मेसिन
आवाजबाट बिजुली निकाल्न सकिन्छ भन्ने परिकल्पनामा तयार पारिएको नविन अवालद्वारा निर्देशित चलचित्र ‘बिजुली मेसिन’ को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र कात्तिक २७ गते सार्वजनिक प्रदर्शनमा आउनेछ ।



