काठमाडौं – रेड वाइन पिउने व्यक्तिहरूको पेटमा विविध किसिमका ब्याक्टेरिया हुने अनि त्यसैले गर्दा उनीहरूको पाचनशक्ति बलियो हुने एक अध्ययनले देखाएको छ ।
तर रेड वाइन बाहेक अन्य किसिमका मदिरा पिउने व्यक्तिको पाचनशक्ति चाहिँ बलियो नहुने अध्ययनमा देखिएको छ ।
रेड वाइनमा पोलीफेनोल्स नामक तत्त्व पाइन्छ र यसले आँतमा रहेको स्वस्थ ब्याक्टेरिया र फन्जाइ बढाउने अनुसन्धानकर्ताहरूको भनाइ छ ।
रेड वाइनले शरीरलाई कोलेस्ट्रोलको स्वस्थ स्तर कायम राख्न मद्दत गर्ने पनि उनीहरूले बताए । यसले रोगप्रतिरोध क्षमता मजबूत बनाउने र मोटोपन रोक्ने पनि उनीहरूको भनाइ छ ।
किंग्स कलेज लन्डनका एक वैज्ञानिकले भने, ‘मदिरा पिउने नै हो भने रेड वाइन पिउनुहोला । तर १५ दिनमा एकपटक एक ग्लास खाए मात्र यसले राम्रो गर्छ ।’
बेलायती अनुसन्धानकर्ताहरूले ४५८ जोडी जुम्ल्याहा महिलाहरूमा रेड वाइन, ह्वाइट वाइन र अन्य मदिरा सेवनको परीक्षण गरेका थिए । कुल ९१६ महिलामाथि अध्ययन गरिएको थियो ।
यसबाट आएको परिणामलाई उनीहरूले नेदरल्यान्ड्समा बस्ने ११ सय ४ जना अनि अमेरिकाका ९०४ जना माथि गरिएको अध्ययनसँग दाँजेका थिए ।
अध्ययनमा सहभागी मानिसहरूलाई उनीहरूको पथ्यका बारेमा सोधिएको थियो र उनीहरूको पेटको ब्याक्टेरिया प्रयोगशालामा मापन गरिएको थियो ।
रेड वाइन पिउनेहरूको पाचन प्रणालीमा अरूको भन्दा निकै बढी विविधतापूर्ण ब्याक्टेरिया रहेको अध्ययनले देखायो ।
एजेन्सी



