एजेन्सी । के पशुपक्षीहरु आफूमाथि भएको ‘अन्याय’को बदला लिन्छन् ? या लिए पनि कति समयसम्म त्यसलाई निरन्तरता दिन्छन् ?
सर्पलगायतका केही जीवले आफूमाथि आक्रमण भएमा बदला लिने गरेको सुन्दै आएका छौं । त्यसमा पनि केही सत्यता होला र केहीमा भने नहोला पनि ।
तर, जब एउटा काग बदला लिन थाल्छ र त्यसलाई तीन वर्षसम्म निरन्तरता दिन्छ भने यसलाई कसरी लिने ? भएको त्यस्तै छ । एउटा कागले एकजना व्यक्तिलाई तीन वर्षदेखि हैरान पारिरहेको छ, त्यो पनि बदला लिने ध्याउन्नमा ।
एक भारतीय सञ्चार संस्थाले आफ्नो अनलाइन संस्करणमा यसबारे समाचार प्रकाशित गरेको छ । जसमा एउटा काग तीन वर्षदेखि लगातार बदला लिन उद्यत रहेको उल्लेख छ ।
समाचार हो मध्यप्रदेशस्थित शिवपुरीको । शिवपुरीस्थित बदरवास जनपदको सुमेला गाउँका शिवा केवट नाम गरेका व्यक्तिलाई तीन वर्षदेखि कागले हैरान पारिरहेको छ । तीन वर्ष वितिसक्दा पनि कागले बदला लिन नछोडेपछि केवट हैरान भएका छन् । केवटका अनुसार जब उनी घरबाट निस्कन्छन तब उक्त काग आएर उनलाई दुःख दिन थाल्छ ।
काग रिसएर टाउकामा ठुँग्ने गर्दछ । जसका कारण उनको टाउकामा घाउसमेत भएको छ । घरबाहिर निस्कनेबित्तिकै काग आक्रमण गर्न आइहाल्ने उनको भनाइ छ ।
कागको आक्रमणबाट पीडित बनेका केवट कागबाट असुरक्षित हुँदै अब रातको समयमा घरबाट निस्कन थालेको बताउँछन् । पहिले सहजै घरबाट निस्कने गरेका उनी अहिले कागको आक्रमणलाई मध्यनजर गर्दै लाठी बोकेर निस्कने गरेको पनि समाचारमा जनाइएको छ ।
किन यसो गर्दैछ काग ?
केवट करिब तीन वर्ष पहिले भएको एक घटनाका कारण कागले आफूमाथि निरन्तर आक्रमण गरेको बताउँछन् । कागले आफूलाई किन आक्रमण गर्दैछ भनेर सुरुमा आफूले थाहा नपाए पनि पछि त्यसबारेमा बुझेको उनको भनाइ छ ।
केवट करिब ३ वर्ष पहिलेको घटना स्मरण गर्दै भन्छन्– त्यसबेला उनी आफ्नो गाउँबाट कतै जाँदै थिए । सोही समयमा जालीमा एउटा कागको बच्चा फसीरहेको देखे । उनले त्यसलाई निकाल्ने कोशिस गरे । तर, उनले निकाल्न खोज्दा कागको उक्त बच्चा मर्याे । सोही दिनदेखि कागले आफूमाथि आक्रमण गर्दै आएको केवट बताउँछन् ।



