काठमाडौं – भारतको छत्तीसगढमा जंगली हात्तीले अन्नपात खाने अनि मडारिएर नष्ट गरिदिने गर्न थालेपछि किसानहरूले आजित भएर खेतनजिक हात्तीको मूर्ति राख्न थालेका छन् ।
सरकारले आफूहरूलाई कुनै सहायता नगरेको भन्दै अब भगवानलाई पुकार गर्नुको विकल्प नरहेको उनीहरू बताउँछन् । भगवान् गणेशले अन्नपात जोगाइदिने आशा उनीहरूले गरेका छन् । त्यसैले उनीहरू हात्तीको मूर्ति स्थापना गर्दैछन् ।
महासमुन्दको कुकराडीह गाउँका किसान हात्ती आतंकबाट पीडित छन् । झुण्डका झुण्ड हात्ती आएर किसानका अन्न सिध्याइदिने गरेका छन् ।
किसानहरूले भने, ‘हामीले विधिविधानका साथ पूजा गरेर हात्तीको मूर्ति राखेका छौं । भगवान् गणेशले हात्तीबाट हाम्रो खेतको रक्षा गर्नुहुनेछ भन्ने हामीलाई आशा छ ।’
वन विभागले हात्तीबाट अन्नपात जोगाउन आफूहरूले भरमग्दुर प्रयास गरिरहेको बताएका छन् । वन अधिकारी मयंक पाण्डेले भने, ‘हामीहरू किसानको विश्वासको सम्मान गर्छौं । हात्तीले अन्नपात नाश नगरून् र कसैको जीवनमा हानि पनि नगरून् भन्ने कुरा सुनिश्चित गर्ने जिम्मेवारी हाम्रै हो ।’ एजेन्सी




