काठमाडौं/ वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन् ।
२०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार तीन सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ । बिलको सदर सेञ्चुरी स्वयंले गरेका छन् ।
अस्पताल प्रशासनले तयार गरेको बिलमा माइतीघरको अन्नपूर्ण क्याफेबाट दुई लाख ९० हजार र जी एन्ड बी क्याफेबाट एक लाख ८५ हजार रुपैयाँ बराबरको खाजा लिएको देखिन्छ । स्रोतका अनुसार एक महिनामा झन्डै पाँच लाख रुपैयाँबराबरको खाजा खर्च गरिएको भनिएका बिल नक्कली हुन्। पाँच लाख खर्च भएको देखाउन नक्कली बिल बनाइएका हुन् ।
‘वीर अस्तपाल वरिपरि क्याफे हुँदाहुँदै माइतीघर किन जानुप¥यो। त्यसमा पनि अस्पतालभित्रै क्यान्टिन छ । त्यसैले माइतीघरको क्याफेबाट तयार गरेको बिल नक्कली हुन्,’ स्रोतले भन्यो, ‘अस्पताल प्रशासनले तयार गरेका केही बिलमा सार्वजनिक बिदाका दिन पनि खाजा खर्च भएको देखाइएको छ ।’ यस विषयमा डा. सेञ्चुरीसँग जिज्ञासा राख्दा उनले केही ‘बदमास’ ले आफूविरुद्ध गलत प्रचार गरेको बताए । ‘अनियमिता भएकै छैन,’ उनले भने, ‘केही बदमासले गलत प्रचार गरिरहेका छन् ।’
भत्काउने भवनमा ७० लाखको लिफ्ट
अस्पालको एउटा भवन ५० वर्ष पुरानो छ । तीन तलाको उक्त भवनमा गम्भीर प्रकृतिका बिरामी जाँदैनन्। सिसियू तथा आइसियूमा भर्ना गर्नुपर्ने बिरामी त्यहाँ जानु पर्दैन । त्यहाँ सामान्य प्रकृतिका मात्र बिरामी जाने गर्छन् ।
उक्त भवन निकै पुरानो र जीर्ण भएकाले अस्पताल प्रशासनले भत्काउने निर्णय गरेको छ । एक वर्षपछि भत्काउने भनिएको उक्त भवनमा प्रशासनले झन्डै ७० लाख रुपैयाँ खर्च गरेर लिफ्ट तयार गरेको छ । तीन तला मात्र भएको उक्त भवनमा लिफ्ट नबनाई नहुने आवश्यकता थिएन। ‘यो पनि कमिसनको खेल हो,’ एक कर्मचारी भन्छन् ।
गुपचप ३० जना नर्स भर्ना
स्वास्थ्य मन्त्रालयले मातहतका निकाय तथा अस्पताललाई ज्यालादारी तथा करारमा कर्मचारी भर्ना नगर्न र बाध्यता परे मन्त्रालयसँग सहमति लिई लोकसेवा आयोगको विधि र प्रक्रिया पुर्याएर भर्ना गर्न सकिने परिपत्र पठाएको छ ।
तर यस परिपत्रलाई वीर अस्पताल प्रशासनले उल्लंघन गरेको छ । आ–आफ्ना मान्छेलाई फाराम भर्न लगाएर गुपचुपमा अन्तर्वार्ता लिइएको छ । वीर अस्पताल भवनमा नभई ट्रमा सेन्टरको हलमा उनीहरूको अन्तरवार्ता लिइएको थियो । यसरी गुपचुप अन्तरवार्ता लिइएका ३० जना नर्सलाई नियुक्तिपत्र दिइएको छ ।
एक अर्बका दुई मेसिन प्रयोगहीन
अस्पताल प्रशासनले झन्डै एक अर्ब रुपैयाँमा खरिद गरेका दुईवटा उपकरण हाल प्रयोगहीन अवस्थामा छन्। क्यान्सरका बिरामीलाई सेक्ने टोमोथेरापी मेसिन र दिमागको अप्रेसन गर्दा हेर्नुपर्ने न्युरोसिटी मेसिन हाल प्रयोग नभई थन्किएका छन् ।
यी दुई वटा मेसिन प्रयोग नभई थन्काइएको र अनियमितता भएको विषयमा महालेखा परीक्षकको प्रतिवेदन र सार्वजनिक खरिद अुनगमन कार्यालय (पिपिएमओ) को प्रतिवेदनमा समेत उल्लेख छ । ती मेसिन प्रयोगमा ल्याउन निर्देशक डा. सेञ्चुरीले कुनै योजना बनाएका छैनन् ।
यस्तै अस्पतालमा करिब १० वटा भेन्टिलेटर मेसिन बिग्रेका छन् । बिग्रेका भेन्टिलेटरलाई मर्मत गर्नेतिर पनि निर्देशकले कुनै चासो राखेका छैनन् । ती भेन्टिलेटर मर्मत हुनेसक्ने स्थितिमा छन् ।
सेञ्चुरी निर्देशक भएपछि बजारमा ४५ हजार रुपैयाँ पर्ने मोबाइललाई एक लाख ५० हजार रुपैयाँ तिरेर किनेको बिल पेस गरिएको छ । यसैगरी ५० हजार रुपैयाँमा पाइने ल्यापटपलाई एक लाख ५२ हजार रुपैयाँ खर्च भएको बिल पेस गरिएको छ ।
निर्देशक सेन्चुरीले बिरामीलाई निःशुल्क खाना तथा खाजा खुवाउने टेन्डर आफूनिकट एक व्यावसायीलाई दिएका छन् । नु सुयोग सप्लायर्सका सञ्चालक ती व्यवसायीसँग अस्पतालले त्यसबापत वार्षिक एक करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्ने सम्झौता गरेको छ ।
घटाघटमा सो टेन्डर हात पार्न सप्लायर्सले बिरामीका लागि एक पैसामा अन्डा उपलब्ध गराउने सम्झौता गरेको छ । खानामा पनि गत वर्ष खसीको मासु दिने गरिएको थियो, यस वर्ष कुखुराको मासु दिने गरिएको छ। अस्पताल स्रोतका अनुसार बिरामीको खाजा तथा खानामा पनि मिलेमतोमा ठगी भइरहेको छ ।
आर्थिक अनियमितताका विषयमा जिज्ञासा राख्दा निर्देशक सेञ्चुरीले आफूले त्यस्तो नगरेको दाबी गरे। उनले भने, ‘अस्पतालमा अनियमितता भएकै छैन । केही व्यक्तिले गलत प्रचार गरिरहेका छन् ।’
तर उनले आर्थिक अनियमितता गरेको भन्दै केही कर्मचारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयमा उजुरी दर्ता गराएका छन् । अख्यितारमा उजुरी दर्ता विषमया निर्देशक सेञ्चुरीले भने, ‘अस्पतालमा अनियमितता भएको रहेछ भने अख्यितारले छानबिन गर्ला । यस विषयमा अहिले म केही बोल्दिनँ ।’ नागरिक दैनिक



