बाँके/ एक दशक लगाएर निर्माण गरिएको नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र अहिले पनि समस्यै समस्याग्रस्त बनिरहेको छ ।
१८ महीनामा निर्माण पूरा गर्नुपर्ने सम्झौताका साथ काम शुरु गरिएको उक्त तीनतले भवन १० वर्षमा भर्खरै मात्र पूरा भएको छ ।
केन्द्रमा खानेपानी, बिजुलीका साथै चिकित्सक र औषधिको व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन । केन्द्रमा औषधि र चिकित्सकको अभावमा गाउँलेले अझै प्रभावकारी सेवा पाउन सकेका छैनन् ।
स्वास्थ्य केन्द्रको भवन भव्य बनाइएको छ । भवन हेर्दा कुनै ठूलो अस्पतालभन्दा कम छैन, तर त्यहाँ उपचार भने असम्भवजस्तै छ ।
केन्द्रमा चिकित्सक र आवश्यकताअनुसारको औषधि ढुवानीका लागि गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयसमेत उदासिन रहँदै आएको छ ।
स्वास्थ्य केन्द्रका इञ्चार्ज मोहम्मद तैराव राईले नवनिर्माण गरिएको भवनमा बिजुली–पानीको सहज पहुँचसमेत नभएको बताए । उनी भन्छन्, ‘बिजुली पानीको त राम्रो व्यवस्था छैन, औषधि र चिकित्सक त कुरै छोड्नुहोस् ।’
उक्त केन्द्रमा दैनिक ४०/५० बिरामी आउँछन्, तर सामान्य रोगका समेत बिरामीलाई सिफारिश गर्नेबाहेक अरू उपाय छैन । स्वास्थ्य संस्थामा आवश्यक आधारभूत प्रविधि र जनशक्ति नहुँदा यहाँका बिरामी नेपालगञ्ज अथवा भारत जान बाध्य छन् ।
यहाँ चिकित्सकसहित १३ स्वास्थ्यकर्मीको दरबन्दी छ । अहिले १० कार्यरत छन् । उक्त स्वास्थ्य केन्द्रमा चिकित्सक आउँदैनन् ।
चिकित्सकको अभावमा अनमी र नर्सले स्वविवेक प्रयोग गरेर उपचार गर्नुको विकल्प छैन । स्टाफ नर्स मीरा रावलले चार वर्षदेखि स्वास्थ्यचौकीमा काम गरिरहेको बताए ।
‘विशेषज्ञ चिकित्सक नहुँदा बिरामीलाई निको हुने आश्वासन दिएर पठाउनुबाहेक अरु विकल्प छैन’, रावलले भनिन्, ‘भवन बन्दैमा उपचार पाइँदैन ।’ बिरामीले समयमै प्रभावकारी उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको उनी बताउँछिन् ।
गाउँमै स्वास्थ्य संस्था भएपनि औषधि र चिकित्सको अभावले आफूहरु सानो रोगको उपचारका लागि पनि महङ्गो रकम खर्च गरेर भारत जाने गरेको नरैनापुर–३ की रजिया खाँ बताउँछिन् ।
आर्थिक अवस्था कमजोर रहेकी उनी त्यहाँ जाने आउने भाडा, खाने खर्च र उपचार खर्च गरी एक पटकमा रु ३० हजार खर्च हुने गरेको खाँको भनाइ छ । उनका अनुसार उक्त स्वास्थ्य संस्थाको अत्याधुनिक भवन बने पनि चिकित्सक र औषधि नहँदा बिरामीलाई झनै समस्या छ ।
एमबीबीएस चिकित्सकको दरबन्दी पुरानै भएको गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँ बताउँछिन् । उनका अनुसार चिकित्सक स्थायीरूपमा यहाँ बस्दैनन् ।
औँ शीपूर्णिमाजस्तै आउने जानेमात्र हो । चिकित्सकको दरबन्दी रहेको उक्त संस्था लामो समयदेखि अहेव, अनमीको भरमा चलिरहेको छ । गम्भीर अवस्थाका बिरामीले तुरुन्त उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्टाफ नर्स रावलले बताइन् ।
‘गाउँकै अस्पतालमा सेवा पाए अन्यत्र जानु पर्दैनथ्यो’, स्थानीय अर्जुन यादवले भने, ‘भवन बने पनि जाँच नहुँदा आकस्मिक बिरामीलाई झनै समस्या छ ।’ उनले नरैनापुर क्षेत्रका स्थानीयवासी बिरामी हुँदा उपचारका लागि भारत जाने गरेको बताए ।
यहाँबाट उपचारका लागि भारत नै जानुपर्छ त्यहाँ जानेआउने भाडा, खाने खर्च र उपचार खर्च गरी एक पटकमा रु २० देखि ३० हजार खर्च हुने गरेको उनको भनाइ छ ।
स्थानीय सैयद मुसताक अहमद शाहले १० कट्ठा जमीन स्वास्थ्य केन्द्रलाई दान गरेका थिए । त्यही जमीनमा अहिले प्राथमिक स्वास्थ्य केन्द्रको भवन बनेको छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक खाँका अनुसार विसं २०५० मा नरैनापुरमा स्वास्थ्यचौकी स्थापना भएको थियो । भवन निर्माणका लागि विसं २०६६ मा बोलपत्र भएको थियो । रु तीन करोड ४० लाखमा भवन बनेको हो ।



