एजेन्सी/ सुपरस्टार क्रिस्टियानो रोनाल्डोले करियरको सात सय गोल पूरा गरेको खेलमा पोर्चुगल पराजित भएको छ । सन् २०२० को युरोकप छनोट अन्तर्गत सोमबार राति भएको समूह ‘बी’ को खेलमा पोर्चुगल युक्रेनसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो ।
यस खेलमा रोनाल्डोले गोलगर्दै समग्रमा सात सय गोल पूरा गरेका छन् । रोनाल्डोको राष्ट्रिय टोलीका लागि भने यो ९५औं गोल हो । उनले पोर्चुगलबाट हालसम्म एक सय ६२ खेल खेलेका छन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा युक्रेनको जितमा रोमन यारेमचुकले छैटौं र एन्ड्री यामोलेन्कोले २७औं मिनेटमा गोल गरे । युक्रेन ७२औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । विपक्षीलाई फलहानेपछि युक्रेनका ताराज स्टेपानेस्को दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । ताराजको त्यही गल्तीमा पोर्चुगलले पेनाल्टीमार्फत गोल फर्कायो ।
पोर्चुगलका लागि रोनाल्डोले पेनाल्टीको सदुपयोग गरेका थिए । दोस्रो हाफमा लगातार मौका बनाएपनि थप गोलगर्न नसक्दा पोर्चुगल हार खेप्न बाध्य बन्यो । जितसँगै युक्रेन युरोकपमा छनोट भएको छ । समूह ‘बी’ मा शीर्ष स्थानमा रहेको युक्रेनले सात खेलबाट १९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको पोर्चुगलको ६ खेलबाट ११ अंक पुगेको छ । पोर्चुगलको पनि छनोटको सम्भावना जिवित छ । छनोट चरण पार गर्न पोर्चुगललाई अर्को खेल जित्नुपर्नेछ ।



