काठमाडौं, १३ असोज । अमेरिकाले आगामी १८ असोजबाट डाइभर्सिटी भिसा (डीभी) चिट्ठा खुला हुने जानकारी दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले बुधबार विज्ञप्ति जारी गरी १८ असोजबाट सन् २०१८ को डीभी कार्यक्रमका लागि आवेदन दर्ता अवधि खुला हुने जनाएको हो ।
आजको राजधानीमा खबर छ – ‘डीभी कार्यक्रम अक्टोबर ४, २०१६ (१८ असोज २०७३) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न नेपालमा स्थानीय समयअनुसार ९ : ४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र ७ नोभेम्बर २०१६ (२२ कात्तिक २०७३)मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न नेपालमा स्थानीय समयअनुसार १० : ४५ बजे बन्द हुनेछ,’ दूतावासले भनेको छ, ‘हामी डीभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्छौं ।’ आवेदन निःशुल्क हुने र डीभी चिट्ठा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने जानकारी पनि विज्ञप्तिमा दिइएको छ । यस्तै, कुनै पनि कन्सल्टेन्टको आवश्यकता नपर्ने भन्दै अमेरिकी दूतावासले आवेदकलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सुझाव दिएको छ ।
‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईं स्वयं जिम्मेवार रहनुहुनेछ,’ अमेरिकी दूतावासको विज्ञप्तिमा भनिएको छ । सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा डब्लूडब्लूडब्लू डीभी लोटरी डट स्टेट डट जीओभीमा गई डाइभर्सिटी भिसा (ईडीभी) मा पुगेर अनलाइन फाराममार्फत आवेदन फारम भर्नुपर्ने दूतावासको भनाइ छ ।
‘फाराम दर्ता गर्दा तपाईंले आफ्ना पति÷पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य ठहरिनेछ,’ दूतावासले भनेको छ, ‘एकजनाका लागि तपाईंले एउटा मात्र आवेदन बुझाउनुपर्नेछ ।
एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन्,’ दूतावासले भनेको छ, ‘हालसालै खिचिएको फोटो, अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ ।’
फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नुपर्ने, प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेस गर्नुपर्ने र फोटो खिच्दा आवेदकहरूले चस्मा लगाउन नहुने व्यवस्था रहेको जानकारी पनि दिइएको छ ।
दूतावासले आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्न पनि सुझाएको छ । ‘यो नम्बर नै तपाईंको स्ट्याटस चेक गर्ने एक मात्र तरिका हो,’ अमेरिकी दूतावासले भनेको छ, ‘आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् । तपार्इं डिभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको त्यही कन्फर्मेसन नम्बर नै हो ।’



