बिष्णुप्रसाद पोखरेल
दमक । अल्ट्रा म्याराथुनमा बिश्वबिजेता बनेर नेपालको नाम उच्च राखेकी अन्तराष्ट्रिय खेलाडि मिरा राइले झापाको सुरुङ्गामा कुखुरा फार्म सञ्चालन गर्नु भएको छ । पुख्र्यौली घर भोजपुर हुनु भएकी उहाँले बिभिन्न दाताहरुको सहयोग र आफूले बिभिन्न ठाँउमा पाएको पुरुस्कार बचाएर सानो घर निर्माण गरि त्यहि छेउमा कुखुरा फार्म पनि शुरु गर्नु भएको हो ।
चर्चित टेलिभिजन च्यानल नेशनल ज्योग्राफिकको शाहसिक वर्ष व्यक्तिको उपाधी जित्न सफल राइले झापाको दमकमा मंगलवार पत्रकारहरुसंगको भेटघाटमा यस बिषयमा खुलासा गर्नु भएको हो । उहाँले भन्नुभयो–‘कुद्न सकुञ्जेल त कुदिएला पछि नसकेका दिन के गर्ने भन्ने चिन्ता रहेकाले ब्यवसायिक रुपमा कुखुरा पालन शुरु गरेको हुँ ।’ हाल आफ्नो फर्ममा २ सयभन्दा बढि कुखुरा रहेको र दाइले यसलाई हेर्दै आउनु भएको समेत उहाँले जानकारी दिनु भएको छ ।
आफू माओबादी जनसेना रहदा अयोग्य ठहरिएपछि बिभिन्न दातृ निकायको पहलमा जेटिए अर्थात कृषि प्राविधिक पढेकाले आफूलाइ यस बिषयमा ज्ञान पनि भएको र कृषि ब्यवसाय गर्नका लागि आफूलाइ उत्साह रहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो–‘म कृषि प्राविधिक पनि हुँ र यो ब्यवसाय गर्न मलाइ उत्साह लागेको छ ।’ नेपालमा खेलाडिको भबिष्य राम्रो नभएको र आर्थिक कमाइले परिवार धान्न गाहे हुने भएकाले आफूले यसलाइ प्राथामिकतामा राखेर अघि बढाउने पनि राइले बताउनु भएको छ ।
घर परिवार र भाइबहिनीको पढाइको जिम्मेवारी आफूसंग रहेकाले कुखुरा फार्मबाट आएको आम्दानीले अहिले केहि सहज बन्न थालेको राइले बताउनु भयो । दूइ पटक कुखुरा बेचिसकिएको उहाँले जनाउनु भयो । बिदेश र स्वदेशमा बराबर जस्तो रहन थाल्नु भएकी राइले भन्नुभयो–‘म आफूलाइ पनि मासु औधि मनपर्छ र अहिले कुखुराको मासुको माग पनि अत्याधिक रहेको छ ।’ कुखुरा फार्मसंगै भबिष्यमा कृषि ब्यवसाय गर्ने सोच रहेको उहाँको भनाइ रहेको थियो ।
नेशनल जोग्राफीको एडभेन्चर अफ दी इयर २०१७ मा विजयी राइ विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा पर्नुहुन्छ । गत बर्ष फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथुनमा पनि राइ पहिलो हुनु भएको थियो । यसैगरि हङकङमा भएको ५० किलोमिटरको एसियन च्याम्पियन, सन २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहनु भएको थियो ।



