काठमाडौं, १४ असोज । भौतिक पूर्वाधार तथा यातायतमन्त्री रमेश लेखकको निर्देशनमा बीपी राजमार्गमा चल्ने सवारीलाई दिने रुटमरमिट मापदण्ड नै उल्ट्याइएको पाइएको छ । प्राविधिक रुपमा सो राजमार्गमा १८ सिट क्षमताभन्दा माथिको गाडी चलाउन नमिल्ने भए पनि मन्त्री लेखकको ठाडो निर्देशनमा सो मापदण्ड उल्ट्याइएको हो ।
आजको राजधानी दैनिकमा खबर छ– यातायात व्यवस्था विभागले यसअघि गठन गरेको प्राविधिक समितिले सो सडकमा १८ सिट क्षमताभन्दा ठूला गाडी चलाउन नमिल्ने प्रतिवेदन पेस गरेको थियो । तर मन्त्री लेखकको निर्देशनमा गठन गरिएको समितिले जत्रो पनि गाडी चलाउन मिल्ने प्रतिवेदन बुझाएपछि मापदण्ड उल्ट्याएर रुट परमिट दिन यातायात व्यवस्था विभागलाई निर्देशन दिइएको थियो ।
मन्त्रालयले हालै एउटा प्राविधिक समिति बनाएर अध्ययन गरेको र सो समितिले १८ सिट क्षमताभन्दा ठूला गाडी पनि चलाउन मिल्ने प्रतिवेदन दिएकाले सोही अनुसार रुट परमिट दिन मन्त्रालयबाट निर्देशन आएको विभाग श्रोतले जानकारी दिएको छ ।



