काठमाडौं, २७ पुष । वर्षकै बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को छायाङकन अन्तिम चरणमा पुगेको छ । निर्माता, निर्देशक तथा कलाकार सन्तोष सेनका अनुसार ‘प्रेमगीत–३’को सम्पूर्ण छायाङकन अबको एक सातामा पूरा गरिने भएको छ ।
करीब ढेड महिनादेखि यस फिल्मको छायाँङकन हिमाली जिल्ला मनाङमा धमाधम भइरहेको छ । निर्माता सेनले भन्नुयो, ‘एक सय भन्दा धेरैको संख्यामा मनाङमा रहेको प्रेमगीत टिम अबको एक सातामा छायाङकन सकाएर काठमाडौं फर्कनेवालामा छ ।’
निर्माता/निर्देशक सेनका अनुसार अहिले फिल्मको अन्तिम भागको छायाङ्कन धमाधम भइरहेको छ । लामो समयदेखिको भारी हिमपातका कारण बाटो बन्द भएपछि काठमाडौंदेखिनै फिल्मका केही मुख्य कलाकारहरुलाई हेलिकप्टरमार्फत मनाङ लगिएको छ ।
भारी हिमपातका कारण आवत÷जावतमा समस्या भएपछि फिल्मका मुख्य कलाकार शिब श्रेष्ठ, कोरियोग्राफर कविराज गहतराज, बाल कलाकार अनुभव रेग्मी, सुजल बस्नेतलगाएतलाई हेलिकप्टरमार्फत मनाङ लगिएको निर्माता सेनले जानकारी दिनुभयो ।
त्यस्तै छायाङ्कन सकाइसकेका फिल्मका अर्का मुख्य कलाकार सुनिल थापा भने सोही हेलिकप्टरमार्फत काठमाडौं फर्कनुभएको निर्माता सेनले बताउनुभयो ।
नयाँ वर्षको अवसरमा चैत २७ गतेबाट मुलुकभर प्रदर्शनमा आउँदै गरेको यो फिल्मको लागि विगत एक वर्षदेखि मेहेनत गरिरहेको निर्माता सेनले बताउनुभयो । उत्कृष्ट फिल्म बनाउनका लागि सबैको तर्फबाट कुनै कसर बाँकी नराख्ने पनि निर्माता सेनको भनाइ छ ।
सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बनिरहेको ‘प्रेमगीत–३’मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सन्तोष सेन, शिब श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, योगिशा खत्री, समृद्धि शाही, अनुभव रेग्मी, जीवन बराल, सुजल बस्नेतलगाएत मुख्य भूमिकामा छन् ।
फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । त्यस्तै फिल्ममा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।



