एजेन्सी/ कजाखस्तानको एक विद्यालयको शौचालयमा १२ वर्षीया विद्यार्थीको बलात्कार गर्ने एक यौन दुराचारीलाई रासायनिक लिंगच्छेद गर्ने र २५ वर्ष कारागारमा बस्ने सजाय दिइएको छ ।
ती बालिका ताराज शहरको आफ्नो विद्यालयमा कक्षा चलिरहेको बेलामा बाहिरको शौचालय गएकी थिइन् ।
स्कूल भवनको पछिल्तिर रहेको शौचालयमा पस्दा उनलाई ३८ वर्षीय पुरुषले आक्रमण गरेर यौन दुर्व्यवहार गरेको थियो ।
भालिएभ नाम गरेका ती दुराचारी बालिकालाई आक्रमण गर्नुभन्दा एक घन्टा अगाडि विद्यालय परिसरमा आएका थिए ।
उनी यताउता हल्लिरहेको बेलामा अनेकौं सीसीटीभी क्यामराहरूमा देखिएका थिए । बालबालिका नजिक पुग्दा पनि उनलाई कसैले रोकेन र त्यहाँबाट जान भनेन ।
क्षेत्रीय शैक्षिक अधिकारीहरूका प्रमुख राखिया तुर्मागानबेतोभाले भनिन्, ‘भालिएभ बच्चाहरू नजिक हिँडिरहँदा पनि कसैले सीसीटीभी क्यामरामा ध्यान नदिनु अति नै हो ।’
प्रहरीको अनुसन्धानमा विद्यालयका अधिकारीहरूले सीसीटीभी क्यामराको मोनिटर गर्ने मानिस यौन आक्रमणका बेलामा अनुपस्थित रहेको बताए ।
अपराध भएको दुई घन्टापछि भालिएभलाई प्रहरीले पक्राउ गरेको थियो । पीडित बालिकाले आफूलाई आक्रमण गर्ने व्यक्ति उही भएको भनी चिनाइन् ।



