चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले महामारीको रुप लिँदै विश्वभर फैलिरहेको छ । हालसम्म संक्रमणका कारण २५९ जनाले ज्यान गुमाइसकेका छन् भने ११,७९० संक्रमित भएका छन् ।
मृत्यु हुने २५९ जना सबै चीनका भएका बताइएको छ । यसको संक्रमण अहिलेसम्म विश्वका २४ देशमा फैलिसकेको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस एक पछि अर्को नयाँ देशमा देखिन थालेपछि स्वास्थ संकटकाल नै घोषणा गरेको छ । अमेरिकीमा कोरोनाभाइरस प्रकोपसम्बन्धमा जनस्वास्थ्य संकटकाल घोषणा गरिएको छ ।
पछिल्लो पटक चीनमा देखिएको कोरोना भाइरसको स्रोतबारे हाल अध्ययन भइरहेको छ । प्रारम्भिक अनुसन्धानबाट नयाँ भाइरस जंगली जनावार वा सि फुड्समध्ये एकबाट मानिसमा सरेको अनुमान गर्न सकिन्छ ।
कोरोनो भाइरस देखिनुपूर्व विश्वमा यसअघि देखिएका कैयौं रोगबाट करोडौं मानिसले ज्यान गुमाइसकेका छन् । करौंडो मानिसको ज्यान लिने गरी विश्वभर फैलिएका ती रोगलाई महामारी पनि भन्ने गरिन्छ ।
नयाँ भाइरस वा ब्याक्टेरियाबाट संक्रमण भएपछि कैयौं रोग यसअघि महामारीको रुपमा विश्वभर वा ठूलो क्षेत्रमा फैलिएको पाइन्छ । तीव्रगतिमा फैलिने हुँदा महामारीबाट ज्यान गुमाउनको संख्यामा पनि निकै धेरै हुने गर्छ ।
विश्वमा कोरोना भाइरस अघि देखा परेका अधिकांश नयाँ भाइरस र ब्याक्टेरिया जनावारबाट मानिसमा सरेका थिए । यसअघि विश्वमा देखिएका घातक रोगबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ ।
१. प्लेग वा ब्ल्याक डेथ
सन् १३४७ देखि १३५३ युरोप तथा पश्चिम एसियामा फैलिएको प्लेगका कारण ७ करोड मानिसले ज्यान गुमाएका थिए । मध्य एसिया वा पूर्वी एसियामा देखिएको प्लेग क्राइमिया हुँदै युरोपम फैलिएको थियो । कालो मुसामा हुने उपियाँबाट उक्त महामारी मानिसमा फैलिएको थियो ।
पुरानो सिल्क रोड हुँदै भूमध्य सागरमा फैलिएको प्लेगलाई युरोपेलीहरूले ‘ब्ल्याक डेथ’ भनेर नामाकरण गरेका थियो । उक्त रोगबाट युरोपको ३० देखि ६० प्रतिशत जनसंख्याले ज्यान गुमाएको अनुमान गरिन्छ । महामारीबाट विश्वको जनसंख्या ४७५ मिलियनबाट ३५० मिलियनमा झरेको थियो । प्लेगले महामारीको रुप लिएपछि विश्वको जनसंख्या पूर्ववर्ती अवस्थामा फर्किन २ लागेको थियो । युरोपमा १९ औं शताब्दीसम्म पनि प्लेगले कैयौंको ज्यान लिएको थियो ।
२. हैजा
सन् १८५२ देखि १८६० सम्म विश्वभर फैलिएको हैजाका कारण १ करोड मानिसको मृत्यु भएको थियो । भारतीय महाद्धिपको गंगा नदी वरपरका बस्तीबाट फैलिएको उक्त हैजा पछि एसियाका अन्य मुलुकसहित, युरोप, अमेरिका र अफ्रिकामा समेत फैलिएको थियो ।
३. स्पेनिश इन्फ्लुएन्जा
पहिलो विश्व युद्धलगत्तै महामारीको रुपमा फैलिएको स्पेनिश इन्फ्लुएन्जा वा स्पेनिश फ्लूले विश्वभर ५ करोड मानिसको ज्यान लिएको थियो । सन् १९१८ को जनवरीदेखि १९२० को डिसेम्बरसम्म उक्त महामारी विश्वभर व्यापक रुपमा फैलिएको थियो । फ्लूबाट संसारभर ५० करोड मानिस प्रभावित बनेका थिए । सुरुमा कहाँबाट उक्त महामारी फैलिएको थियो भनेर हालसम्म एकिन हुन सकेको छैन । तर उत्तरी फ्रान्सबाट फैलिएको कतिपयले बताउँछन् ।
४. एच२एन२ भाइरस
चराबाट मानिसमा सर्ने इन्फ्लुएन्जा ए भाइरसअन्तर्गतको एच२एन२ भाइरस सुरुमा १९५७ तिर सिंगापुरमा देखिएको थियो । एक वर्षको अवधिमा पूर्वी एसियाहुँदै अमेरिकासम्म फैलिएको उक्त महामारीबाट ११ लाख मानिसको ज्यान गएको थियो ।
५. एचआईभी/एड्स
महामारीको रुपमा विश्वभर फैलिएको अर्को घातक रोग हो, एचआईभी/एड्स । यो रोग सुरुमा अफ्रिकाको कंगोमा देखा परेको थियो । प्राइमेट (बाँदर) बाट एड्स मानिसमा फैलिएको हालसम्मको अध्ययनले देखाउँछ । सन् १९८१ यता एचआईभी/एड्सबाट विश्वभर ३ करोड ६० लाख मानिसले ज्यान गुमाइसकेका छन् । विश्वमा अझै पनि झण्डै ३ करोड ५० लाख मानिस एड्सबाट संक्रमित भएको बताइन्छ जसमध्ये अधिकांश अफ्रिकामा बस्छन् । तर एड्सविरुद्धको औषधी विकास भएकाले यो महामारीबाट मर्नेको संख्या सन् २००५ देखि २०१२ को अन्तरालमा २२ करोडबाट घटेर १६ करोडमा झरेको छ ।
६. इन्फ्लुएन्जा ए (एच३एन२ भाइरस)
पहिलो पटक सन् १९६८ मा देखा परेको एन्फ्लुएन्जा एबाट विश्वभर १० लाख मानिसको मृत्यु भएको अनुमान गरिन्छ । सुरुमा अमेरिकामा फेला परेको एच३एन२ भाइरसका कारण १ लाख अमेरिकीको ज्यान गएको थियो । ज्यान गुमाउनेमध्ये प्रायः ६५ वर्ष उमेर काटेका मानिसहरू थिए । यो भाइरस अझै पनि बेलाबेला मौसमी इन्फ्लुएन्जा ए को रुपमा देखा पर्ने गर्छ ।
७. इबोला
सन् २०१४ मा सेन्ट्रल अफ्रिकामा देखा परेको इबोला भाइरसका कारण ११ हजार ३ सय २३ जनाले ज्यान गुमाइसकेका छन् । इबोला भाइरस जंगली जनावारबाट मानिसमा सरेको थियो । मानिसबाट मानिसमा सर्न थालेपछि महामारीको रुप लिएको हो ।
८. जिका भाइरस
सुरुमा सन् २०१४ को फेब्रुअरीमा चिलीको इस्टर द्धिपमा देखा परेको जिका भाइरस पछि दक्षिण, उत्तर अमेरिका, क्यारेबियन द्धिप तथा प्रशान्त महासागरका केही द्धिपमा फेलिएको थियो । भाइरसका कारण बालबालिकामा जन्मजात शारीरिक तथा मानसिक समस्या देखा परेको थियो । लामखुट्टेबाट मानिसमा सरेको जिका भाइरसबाट ब्राजिलमा २४ जना शिशुले ज्यान गुमाएका थिए । अन्यत्र फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको थियो ।
९. बर्ड फ्लू
बर्ड फ्लू वा चराचुरुङ्गीमा लाग्ने एक प्रकारको फ्लू मानिसमा पनि सर्छ । एच५एन१ पनि भनिने यो रोगबाट सन् २०१३ यता ६१६ जना मानिसले ज्यान गुमाइसकेका छन् । विशेषगरी चराचुरुङ्गीमा देखियो यो रोग कुखुरा फार्म र मासुबाट मानिसमा सर्ने गर्छ ।
१०. सार्स
Severe Acute Respiratory Syndrom पनि भनिने सार्स सन् २००२ मा चीनमा देखा परेको थियो । सार्सबाट ७७४ जनाले ज्यान गुमाएका थिए भने ८ हजारभन्दा बढी मानिस संक्रमित भएका थिए । सार्स चमेराबाट मानिसमा सरेको बताइन्छ ।
माथि उल्लिखित महामारी र रोगबाहेक अन्य रोगबाट पनि मानिसले ज्यान गुमाएका छन् । सन् २०१५ मा एंगोलामा देखा परेको एलो फिभरका कारण ५९५ जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै सन् २००९ मा पहिलो पटक देखा परेको स्वाइन फ्लूका कारण ५ लाख मानिसले ज्यान गुमाएको अनुमान गरिन्छ । स्वाइन फ्लूबाट अमेरिकामा मात्रै झण्डै ७ करोड मानिस संक्रमित भएका थिए ।
सन् २०१० मा हैटीमा फैलिएको हैजाले ८ हजार १ सय ८३ मानिसको ज्यान लिएको थियो भने ६ लाख ६५ हजार मानिस हैजाबाट संक्रमित बनेका थिए ।
साथै सन् २०१२ मा साउदी अरबमा देखा परेको Middle East respiratory syndrome का कारण ४६ जनाको ज्यान गएको थियो । यो रोग चमेराबाट मानिसमा सरेको अनुमान गरिन्छ । साझापोस्ट बाट साभार



