
अस्वीकार गरिएको प्रेम कहिले कहिले खतरनाक हुन सक्छ, जसको बारेमा हामीले सोच्न पनि सक्दैनौं । भारतको उत्तर प्रदेशको बरेलीमा एक युवतीले आफूले प्रेम गर्ने युवकको अनुहारमा ब्लेडले आक्रमण गरिन् ।
युवतीले उक्त युवकलाई प्रेम भने गर्थिन्, तर युवकले भने कुनै पनि शारीरिक र वैवाहिक सम्बन्ध राख्न चाहन्थेनन् । युवतीले धेरैपटक युवकलाई बिहे गर्ने प्रस्ताव राखिन् तर युवकले त्यसलाई अस्वीकार गर्दै आए ।
युवकले आफू पढ्न र करियर बनाउन चाहेको बताउदै आएका थिए । बिहीवार आफ्नो कलेज जाँदै गर्दा युवतीले युवकलाई भेटिन र ब्लेडले आक्रमण गरिन् ।
‘तिमीलाई आफ्नो अनुहारको धेरै घमण्ड छ, अब तिमीसँग कसैले पनि बिहे गर्दैन,’ प्रत्यक्षदर्शीले युवतीलाई उदृत गर्दै भारतीय समाचार एजेन्सी आइएएनएसलाई बताए ।
उनले युवकको अनुहारमा ब्लेडले आक्रमण गरेपछि रगत बग्न थाल्यो । रगत बगेको देखेर युवती पनि बेहोस भइन् । प्रत्यक्षदर्शीले युवकलाई तुरुन्त अस्पताल लिएर गए । अस्पताल स्रोतले युवकको अनुहार नराम्रोसँग क्षतिग्रस्त रहेको बताएको छ ।
कलेजको प्राधानाध्यापकले घटना कलेजबाहिर भएकाले यस विषयमा कुनै टिप्पणी गर्न मानेनन् । उक्त घटनामा अहिलेसम्म कुनै केस दायर भएको छैन । युवक र युवती दुवै नाबालिग हुन् ।



