बिष्णुप्रसाद पोखरेल
दमक । झापा लखनपुर ४ मदनपुर टोलका किसानहरु आफूले उत्पादन गरेको कृषिजन्य उत्पादनहरु बिक्रि नहुदा र मूल्य नपाउदा खोले ख्वाउन बाध्य भएकाछन् । बमौसमि तरकारी तथा फलफूल खेतीमा लागेर आत्मनिर्भर बन्ने प्रयास गरेका यहाँ किसानहरु बिचौलियाका कारण पीडत बनेपछि आफूले उत्पादन गरेको फर्सिदेखि लिएर काँक्रासम्म खोले ख्वाउन बाध्य बनेकाहुन् ।
५ बर्षभन्दा लामो समय बिदेश बसेर आएपछि यहि आत्मनिर्भर बन्नका लागि यसपटक ब्यवसायिक काँक्रा खेति गरेका मदन आचार्यका अनुसार दैनिक उत्पादन हुने गरेको दूइसय केजि काँक्रा र फर्सिका गट्टाहरु बिक्रि नहुदा समस्या भएको छ । झापाको प्रमुख बजारहरुमध्ये दमक र गौरादहको बीचमा रहेको यहाँ बजारमूल्य भन्दा आधा पनि किसानले मूल्य पाएका छैनन् ।

बजारमा ४० रुपिया प्रतिकेजि काँक्रा बिक्रि हुदै
आचार्यका अनुसार आफ्नो घरबाट ६ किलोमिटर दुरीमा रहेको दमक र यति नै दुरीमा रहेको गौरादहमा ४० रुपिया केजि बिक्रि भइरहेको काक्रा आफूहरुको १० रुपियामा पनि बिक्रि भएको छैन । बजारमा लैजादा ब्यापारीहरुको सिन्डिगेटका कारण कसैले नकिन्ने र बसेर बिक्रि गर्ने स्थलहरुको समेत ब्यवस्था नभएका कारण जति मोल दिन्छन् त्यतिमा नै बेच्न बाध्य भएको उहाँको भनाइ रहेको छ ।
आचार्यले भन्नुभयो–‘बोटमा आएर टिप्छन्, राम्राराम्रा छान्छन् र आफै मोल गरेर लान्छन् हामीले आफ्नो चिजको मोल गर्न पाउदैनौ ।’ मूल्यको बिषयमा बादबिबाद गर्दा भोलिदेखि आएर कुनै शब्जिहरु नलग्ने भएका कारण स्थानीय किसानहरु त्रासमा समेत रहन्छन् । उनिहरुले अलिकति धोरै चोट लागेका र सग्ला नभएकाहरु त्यसै छाड्दा खोले ख्वाउने गरेको पनि उहाँको भनाइ रहेको छ ।
अर्का यहिका किसान ख्याम आचार्यको पनि पीडा उहि रहेको छ । बजार लगेर बिक्रि गर्न नसकिने यहाँ उनिहरु बजारमूल्य भन्दा आधा पनि मूल्य दिदैनन् । खोले ख्वाउनका लागि काक्रा काट्दै गर्नु भएका आचार्यले नबिकेर खोले ख्वाउन ठिक पारेका काँक्रा देखाउदै भन्नुभयो–‘अहिले काँक्रा नबिकेर खोले ख्वाउनु परेको छ, अस्ति फर्सि नबिकेर खोले ख्वाएका थियौ ।’
अहिले बजारमा खुर्सानी ८० रुपिया केजिसम्म रहेको तर आफूहरुले उत्पादन गरेको खुसार्न ३० रुपियामा पनि कसैले नलगेको उहाँले बताउनु भयो । बजारमा ४० रुपियासम्म भन्ने गरिएको फर्सिका गट्टाहरु आफूहरुले १० रुपियामा बेच्दै आएको जनाउदै लागत मूल्य समेत उठाउन मुश्किल भएको उहाँको गुनासो रहेको छ । उहाँले भन्नुभयो–‘प्रत्येक बर्ष अब भाउ पाइन्छ की भनेर ज्यान फालेर खेती गर्छौ तर फेरी उस्तै, हामी सधै यसरी नै पिल्सने भयो र ऋणमा डुब्दैछौ ।’
स्थानीय राजु बराल, भानु सुबेदी, दामोदर गुरागाइ लगायतका किसानहरुको पनि उस्तै पीडा रहेको छ । अखिल किसान महासंघका नेता एवं लखनपुर गाबिसका पूर्व उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीका अनुसार यहाँका किसानहरुको मूख्य आम्दानीको श्रोत नै बेमौसमि खेती भएपनि उत्पादन भएको कृषि उपजको मूल्य नपाउदा स्थानीयहरु धेरै पीडित भएकाछन् । बजारमूल्य भन्दा तेब्बर सस्तो समेत किसानका उत्पादन नबिक्नु र खोले ख्वाउनु पर्ने अवस्था रहनु दुखद भएको उहाँ बताउनु हुन्छ ।



