त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण अवरुद्ध स्नातकोत्तर तहको पठनपाठन अनलाइन प्रविधिबाट शुरू गरेको छ । सङ्क्रमणको अवधि लामो हुने सङ्केत देखिएपछि विश्वविद्यालयले प्रविधिको प्रयोग गरेर विद्यार्थीलाई पढाउने मेसो मिलाएको हो । प्रविधि चलाउन सक्षम विश्वविद्यालयका शिक्षकले आफ्नै घरबाट बन्दाबन्दीमा परेका विद्यार्थीलाई पढाउन थालेको विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँँस्कोटाले जानकारी दिए।
स्नातकोत्तर तहतर्फ सेमेस्टर प्रणालीमा सञ्चालित दोस्रो तथा चौथो वर्षका कक्षा सञ्चालन शुरू गरिएको हो । पहिलो सेमेस्टरमा हाल विद्यार्थी भर्ना मात्रै भएकाले धेरै विद्यार्थी सम्पर्कमा आएका छैनन् ।
स्नातकोत्तरमा विज्ञान तर्फका भौतिक शास्त्र, वातावरण विज्ञान, सूक्ष्म जीव विज्ञान, बायो टेक्नोलोजी लगायतका केन्द्रीय विषयमा पढाइ सञ्चालन गरिएको छ । व्यवस्थापन सङ्कायतर्फ होटल व्यवस्थापन तथा एमबीए तर्फको कक्षा सञ्चालन गर्न थालिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालले जानकारी दिए ।
मानविकीतर्फ स्नातकोत्तर तहमा ग्रामीण विकास विभागले पहिलो सेमेस्टरका विद्यार्थीलाई अनलाइनबाट कक्षा प्रारम्भ गरेको जानकारी त्रिविका प्रिन्सिपल कृष्ण आचार्यले जानकारी दिए । अनलाइनबाट कसरी पढाउने भन्ने विषयमा केन्द्रीय विभागीय प्रमुख र क्याम्पस प्रमुखसित छलफल भइरहेको जनाइएको छ ।
विश्वविद्यालयले शिक्षकलाई प्रविधिमैत्री बनाउन तालिमसमेत सञ्चालन गर्दैछ । कक्षामै पुगेर पढाउने बानी परेका शिक्षकलाई प्रविधिबाट कक्षा लिन सक्षम बनाउनुपर्ने भएपछि तालिम दिने योजना बनाइएको छ । पहिलो चरणमा ४० तथा अर्को चरणमा गरी तीन सय शिक्षकलाई तालिम दिइने शिक्षाध्यक्ष भुसालले बताए ।
शिक्षाध्यक्ष भुसालले परीक्षा प्रणाली तथा मूल्याङ्कनबारे पछि सोचिने र त्यसका लागि समय रहेको बताए । हाल सेमेस्टर प्रणालीमा शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न ४० र परीक्षाका लागि ६० अङ्क छुट्याइएकाले यस विषयमा परिस्थिति हेरेर निर्णय गरिने उनले बताए ।
विश्वविद्यालयले अनलाइन प्रविधिबाट पठनपाठन कसरी अगाडि बढाउने तथा यसका नीतिगत समस्या कसरी समाधान गर्ने भन्ने विषयमा अध्ययन गर्न एक कार्यदल बनाएको छ । कार्यदलको सुझावका आधारमा अनलाइन शिक्षाबारे नीतिगत निर्णय गरिने जानकारी शिक्षाध्यक्ष भुसालले दिए ।
समस्या कम छैनन्
विश्वविद्यालयले केन्द्रीय विभागमा अनलाइन प्रविधिबाट पठनपाठन शुरू गरे पनि धेरै विद्यार्थी भएका विषयमा भने पठनपाठन गर्न समस्या हुने भएको छ ।
धेरै विद्यार्थीलाई प्रविधिबाट पढाउन पहुँच नपुग्ने उहाँको भनाइ छ । हजारौँ विद्यार्थी अध्ययन गर्ने मानविकी, व्यवस्थापन, शिक्षा शास्त्रका विषयमा अनलाइनबाट पढाउन समस्या हुने शिक्षाध्यक्ष भुसालले बताए ।
धेरै विषय अध्यापन गराउने विश्वविद्यालयका मातहतका आङ्गिक क्याम्पसमा पनि प्रविधिबाट अध्यापन गराउन कठिनाइ हुने देखिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।



