
विश्वभरि नै महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट दुई लाख २८ हजारभन्दा बढी मृत्यु भइसकेको छ ।
लाखौं मानिस संक्रमणसँग जुधिरहेका छन् भने १० लाखभन्दा बढी उपचारपछि निको भएर घर फर्केका छन् । वर्ल्ड मिटर्स डट इन्फोको तथ्यांकअनुसार, कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको संख्यामा महिलाको तुलनामा पुरुष बढी छन् । चीनले गरेको अध्ययनअनुसार, संक्रमितबाट मृत्यु हुने पुरुषको संख्या ७० प्रतिशतको हाराहारीमा छ ।
वर्ल्ड मिटर्स डट इन्फोको तथ्यांकअनुुसार, कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या महिलाको तुलनामा पुरुषको अत्यधिक धेरै छ । चीनले गरेको अध्ययनअनुसार, मृतकमध्ये करिब ७० प्रतिशत पुरुष छन् ।
त्यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निकालेको तथ्यांकअनुसार, युरोपमा मृत्यु हुनेमध्ये ६३ प्रतिशत पुरुष छन् । त्यसैगरी, इटालीमा भएकोे अध्ययनअनुसार पुरुषको मृत्युदर आठ प्रतिशत हुँदा महिलाको मृत्युदर पाँच प्रतिशत थियो ।
पछिल्लो तथ्यांकअनुसार, अमेरिकामा पुरुषको मृत्युदर महिलाको तुलनामा दोब्बर रहेको पाइएको छ । एक लाख संक्रमितमध्ये ४३ पुरुषको मृत्यु हुँदा २३ जना मात्र महिलाको निधन भएको पाइएको छ ।
चिकित्सकहरूका अनुसार, महिलाको जिनका कारण उनीहरूको मृत्युदर पुरुषको तुलनामा कम भएको हो । महिलामा हुने एक्स क्रोमोजोमका कारण उनीहरूमा प्रतिरोधी क्षमता तुलनात्मक रूपमा पुरुषको भन्दा बढी हुने गर्छ ।
त्यस्तै, पुरुषमा हुने जिन, सामाजिक व्यवहार र स्वास्थ्य अवस्था जिम्मेवार हुने गरेको पाइन्छ । जस्तै, पुरुषहरूमा मुटुरोग, कलेजोको रोग, उच्च रक्तचापजस्ता समस्या तुलनात्मक रूपमा बढी हुने भएकाले संक्रमणको जोखिम बढी हुने गरेको हो । नयाँ पत्रिका दैनिकबाट



