
आइतबार साँझ सुदूरपश्चिम प्रदेशबाट सुरु भएको हावाहुरीसहितको वर्षा क्रमश: पूर्व सर्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो मौसमी प्रणालीले सुदूपश्चिम, कर्णाली र प्रदेश ५ का भूभागमा हावाहुरीसहित असिना तथा वर्षा गराएको छ। कतिपय क्षेत्रमा चट्यांग परेकाे खबर आइरहेका छन्।
यो प्रणालीले सुदूरपश्चिमको धनगढी र महेन्द्रनगर क्षेत्रमा साँझ ४ बजेतिर हावाहुरीसहित छिटपुट वर्षा गराएको थियो। ठूलो हावाहुरी चल्दा केही समय अध्यारो जस्तै बनेकाे थियाे। तर पछि माैसम पूर्ववर्ती अवस्थामा फर्किएकाे थियाे।
यो प्रणाली पूर्वतिर सर्दै गरेको र साँझ सम्ममा प्रदेश ५, गण्डकी र बागमती प्रदेशमा पनि प्रणालीको प्रभाव देखिन थालेको छ। महाशाखाले यी क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली सुदूरपश्चिम प्रवेश गरेको भन्दै महाशाखाले आइतबार नै सतर्कता अपनाउन भनेको थियो।
पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकाे महाशाखाले जनाएकाे छ। लोकान्तर बाट साभार



