
काठमाण्डौ। आज एकै दिन १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय ८६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मोरंगको कोसी अस्पतलामा गरिएको परीक्षणमा १७ जना सङ्क्रमित भेटिएका छन् ।
जसमा झापाको कचनकवल गाउँपालिकाका १५ जना र गौरादह नगरपालिकाका २ जना रहेका छन् । त्यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमामा गरिएको परीक्षणमा ११ जना सङ्क्रमित भेटिएका छन् ।
जसमध्ये ८ जना सप्तरीको बोदेबसाईन नगरपालिकाका छन् भने बालनविहुलका २ जना र सप्तरीकै सुरुङाका एक जना छन् । यस्तै हेटौडाको किटजन्य प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा ८ जना सङ्क्रमित भेटिएका छन् ।
उता पोखराको प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा वाग्लुङको तमानखोलाका ४ जना र वडिगाडका २ जनामा सङ्क्रमण देखिएको छ । त्यस्तै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उता भेरी अस्पतालमा गरिएको परिक्षणमा १६ जना संक्रमित भेटिएका छन् । यस्तै राष्ट्रियजनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँमा भएको परीक्षणमा ३८ जना सङ्क्रमित भेटिएका छन् ।
यता रौतहटको श्री जनता मावीमा भएको परीक्षणमा १४ जना र मदरसामा भएको परीक्षणमा २ जनामा सङ्क्रमण देखिएको छ । अहिले सम्म १ सय ८३ जना डिस्चार्ज भएका छन् । आज मात्रै थप २८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।



