काठमाण्डौ। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार ६ सय १५ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जना गरी ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रतिष्ठानका अनुसार दैलेखमा दुई महिलासहित २४ जनामा तथा जुम्लामा १९ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
यसको आधिकारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नै दिनेछ । तर प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्लाको भैरव नवदिप स्कुल छहराको क्वारेन्टाइनमा रहेका १९, ३८ र ४० वर्षका पुरुष तथा रुपन्देहीको कोटहिमाईका ४२ वर्षका पुरुष र ७० वर्षकी महिलाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
अहिले सम्म १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा र १ हजार ३ सय ४४ जनालाई आइसोलेशनमा राखिएको मन्त्रालयले जनाएको छ ।
२ सय २० जना कोरोना सङ्क्रमणबाट निको भएका छन् भने ८ जनाको भने मृत्यु भएको छ । अहिलेसम्म ६९ हजार ५ सय ८७ जनाको पीसीआर र १ लाख ११ हजार १ सय ९ जनाको आरडीटी विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ ।



