डा.राजेन्द्र प्रसाद यादव/डा.बालक चौधरी
देशको सर्वाङ्गिण विकाश र गरिबी निवारणमा दुग्ध क्षेत्रको भूमिका अत्यन्तै महत्वपूर्ण छ । यस क्षेत्रले मुलुकको कल ग्राहस्थ उत्पादनमा करिब ९ प्रतिशत योगदान दिएकोछ । यो क्षेत्र स्वरोजगार प्रदान गर्ने एक शसक्त माध्यमको रुपमा आईरहेकोछ । दुग्ध ब्यबसायबाट सहरी क्षेत्रको पैसा गाउँमा प्रबाह गर्न प्रमुख भूमिका रहेको पाईन्छ ।

दूध स्तनधारी प्राणीको लागि उत्तम खाद्यपदार्थ हो । बच्चा जन्मेपश्चात आमाले दूध सेवन गराउने सर्व विदित्तै छ । जन्मेको ५ देखी ७ दिनको विगौती दूधमा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता (Immunoglobin) हुने विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । जीवकोष, तन्तु तथा मांसपेशी, हाड, नशा आदि शरीर संरचनाका हिस्साहरु बन्न दूधको मुख्य भूमिका हुन्छ । तसर्थ शिशुहरुको शारीरिक वृद्धि विकास हुदै किशोर, युवा हुदै वृद्धा अवस्थामा प्रवेश गर्दछ । दूध हरेक उमेर, अवस्थाका मानिसहरुलाई चाहिन्छ । दूधको महिमा पौराणिक ग्रन्थहरुमा पनि श्रीकृष्णले नौनी चोरेर बालशखाहरुलाई खुवाउने गरेको पाईन्छ । हिन्दू धर्मावलम्वीहरुले अहिले पनि कुनै पनि शुभ कार्य गर्दा पञ्चामृतका रुपमा दूध, दहि, घीउ, मिश्री एवं मह राखी प्रसादको रुपमा चढाउने तथा ग्रहण गर्ने गर्दछन् । यसबाट दूध र दुग्ध पदार्थहरुको महत्व तथा उपयोग प्राचीन कालदेखि रहदै आएको पुष्टि हुन्छ ।

दूधमा चिल्लोपदार्थ, प्रोटिन, कार्वोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता शरीरलाई चाहिने अति आवश्यक तत्वहरु पाइने हुनाले दूध एक सम्पूर्ण खाद्य पदार्थ (Complete Food) हो । दूधको पौष्टिक महत्वको साथसाथै सुपाच्य हुने हुँदा शिशुहरु एवं रोगी तथा बृद्ध मानिसहरुलाई दूध खुवाउने गरिन्छ । सन्तुलित रुपमा दूध तथा दुग्ध पदार्थको सेवनबाट दैनिक आवश्यक पर्ने शक्ति आपूर्ति हुनाको साथै शरीर तन्दुरुस्त हुन्छ ।

नेपालको खाद्य नियमावली अनुसार Standardized Pasteurized (मानक प्रशोधित) दूधमा ३ प्रतिशत चिल्लो पदार्थ एवं ८ प्रतिशत चिल्लो रहित अन्य ठोस पदार्थ हुनु पर्दछ । मानक प्रशोधित दूधमा हुने ३.० प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी शक्ति प्राप्त हुन्छ ।

हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को उपचारको लागि कुनै औषधि तथा खोप बन्न नसकेको सन्दर्भमा रोगसंग लड्ने तथा शारीरिक तन्द्रुरुस्त बनाई राख्न दूध तथा दुग्ध पदार्थको नियमित सेवन गर्नु एक उत्तम विकल्प हो । दूधले शारीरिक क्रियाकलाप, दैनिक कार्य, शारीरिक बृद्धि विकास गर्न सहयोग गर्दछ ।

दूधको पौष्टिक महत्व
चिल्लो पदार्थः चिल्लो पदार्थले शरीरलाई शक्ति प्रदान गर्दछ । आवश्यक भन्दा अधिक चिल्लो पदार्थ शक्तिको रुपमा सञ्चित रहन्छ । विरामी हुंदा यही सञ्चित चिल्लो पदार्थले शक्ति शक्ति प्रदान गर्दछ ।

ल्याक्टोजः दूधमा हुने ल्याक्टोज अर्को शक्तिको श्रोत हो । ल्यक्टोजले तुरुन्त शक्ति प्रदान गर्दछ र शरीरमा स्फूर्ति आई पुनः काममा सक्रिय हुन मद्दत गर्दछ ।

प्रोटिनः दूधको सेवनले शरीरको कोषिका, तन्तु लगायत शारीरिक वृद्धि गर्दछ । शारीरिक काम गर्दा ती कोशिका, तन्तुहरु टुटफुट भएमा मर्मत सम्भारको काम समेत गर्दछ । प्रोटिनले शरीरलाई शक्ति समेत दिन्छ ।

भिटामिनः दूधमा भिटामिन A, D, E, K, C/B-Complex पाईन्छ । भिटामिन A ले रतन्धो हुनबाट जोगाउने, प्रजनन क्षमताको विकास गर्ने तथा शारीरिक वृद्धि विकासमा सहयोग गर्दछ । भिटामिन D ले हाड मजवुत बनाउनमा सहयोग गर्दछ भने भिटामिन E ले मांसपेशी मजबुत पार्दछ । त्यसैगरी चोटपटक लागेर रगत निस्किदा भिटामिन K ले रगत जमाउन मद्दत गर्दछ । भिटामिन C ले गिजा सुनिनबाट जोगिन मद्दत गर्दछ । भिटामिन B-Complex ले शारीरिक बृद्धि हुने तथा खाना खाने रुची जगाउँदछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय